निर्वाचनकाे बेला भूमिहीनलाई हटाउन खाेजियाे: सिंह

18

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको दावी छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ जागृतिनगरको बस्तीमा बिहीबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए।

बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ति जनाउँदै उनले भने, ‘बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरू दिइएको हुन्छ, ती सुझावहरूलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ।’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनकाे भनाइ छ।

आफूले अरू दलका नेताहरूले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरामा विश्वस्त रहन आग्रह गरेका छन्।

उनले कुनचाहिँ उम्मेदवारलाई जिताउँदाखेरि आफ्नो भविष्य राम्रो हुन्छ भन्ने लेखाजोखा गरेर कांग्रेसलाई मंसिर चार गतेको दिन रुख चिन्हमा मतदान गर्न आह्वानसमेत गरे।