रसुवामा थपिए दुई वटा मतदान केन्द्र

48

रसुवा । जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई  मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं  जिल्ला समन्वय समितिको परिसरमा एक-एक वटा अस्थायी मतदान केन्द्र  राख्ने निर्णय भएको  जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र  जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै  निजामती  कर्मचारी  मतदान गर्न पाउने छन् । समानुपातिकतर्फ मतदान गर्न पाउने राष्ट्रसेवकमध्ये निजामतीमा छ सय १२, नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७ र नेपाल प्रहरीका ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 तीमध्ये ५० प्रतिशत राष्ट्रसेवक जिल्लाभित्र रहने मतदान केन्द्रमा खटिने भएकाले ती कर्मचारीको हकमा खटिएकै मतदान केन्द्रबाट र धुन्चे क्षेत्रमा रहने करिब  ५० प्रतिशत  राष्ट्रसेवकले जिल्ला समन्वय समितिको परिसरमा रहने मतदान केन्द्रबाट मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी  थापाले बताए ।

यस्तै आसन्न निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका एक सय १२ मतदान तथा सहायक मतदान अधिकृतलाई यथेष्ट ज्ञान बढाउन दुई चरणमा तालिम प्रदान गरिएको छ । तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रजिअ नवराज जैसी, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल निर्वाचन अधिकारी थापा समेतले मतदान केन्द्रमा पर्नसक्ने चुनौती र त्यसको निराकरणका उपायमा दिशानिर्देश गर्दै  शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जस्ता विविध विषयमा प्रशिक्षण दिएका थिए ।