होमस्टेमा पाहुना घुइँचो

96

लमजुङ । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ। दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन्। काउलेपानीमा यतिबेला दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ। बिदा मनाउनका लागि समूह(समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन्।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन्।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए। “कुनै घर पनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरू बिहान मात्रै आएका छन्। सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढी पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले बताए। उनले भने दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओइरो लागेको हो। घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन्। घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन्।