Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय बाढीलाई तापमानवृद्धिले विनाशकारी बनाएको हुन सक्छ : वैज्ञानिक

बाढीलाई तापमानवृद्धिले विनाशकारी बनाएको हुन सक्छ : वैज्ञानिक

57

पाकिस्तान । विश्वव्यापी रूपमा भएको तापमानवृद्धिले पाकिस्तानमा आएको बाढीमा भूमिका खेलेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। पाकिस्तानमा हालको बर्खामा आएको बाढीका कारण लाखौँ मानिस बिस्थापित भएका छन्। १५ सयजनाको हाराहारीमा निधन भएको छ।

वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि कारक रहेको हुन सक्ने बताएका हुन्। जलवायु परिवर्तनले वर्षालाई सघन बनाउन सहयोग गरेको हुन सक्ने देखिएको वैज्ञानिकहरूले बताए। तर अध्ययनको निष्कर्षमा धेरै अनिश्चितताहरू रहेकाले बाढी विनाशकारी बन्नुमा जलवायु परिवर्तनको भूमिका कति भन्ने यकिन हुन सकेको छैन।

आउँदा कुनै पनि वर्षमा हालको जस्तै विपदको अवस्था सिर्जना हुने सम्भावना करिब एक प्रतिशत रहेको वैज्ञानिकले बताएका छन्। पाकिस्तानमा सन् २०१० पछि अहिले ठूलो बाढी आएको हो। बाढीका कारण मानवीयसँग ठूलो मात्रामा भौतिक क्षति भएको छ। सर्वसाधारण विस्थापित भएका छन्। खाद्यान्न, पानी, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ। यो वर्ष बाढीका कारण पाकिस्तानको एक तिहाइ क्षेत्र डुबानमा परेको जनाइएको छ।