म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद

37
फाइल तस्विर प्रयोग गरिएको हो ।

सर्लाही । लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ । लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डालीमार्टबाट उपभोक्ता ठगिएको गुनासो आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेपछि म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु बिक्री भएको तथ्य बाहिर आएको हो ।

अनुगमन गर्नेक्रममा टोलीले म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु फेला पारेको जनाएको हो । प्रहरीसमेतको उपस्थितिमा अनुगमन गर्दा म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकिरा र चिलेसा लागिसकेको मकैको च्याख्लालगायतका वस्तु बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खाद्यवस्तु बिक्री गरिएकोे तथा उपभोक्तालाई ठगी गरेको भन्दै अनुगमन टोलीले राजस्व शाखालाई चिठ्ठी काटेको छ । उपभोक्ता हितविपरीत ठगी धन्दा गरेको भन्दै राजस्व शाखाले समेत डालीमार्टविरुद्ध नियमअनुसार जरिवाना गर्न पत्र काटेको जनाएको छ । अनुगमन टोलीले नियन्त्रणमा लिएको म्याद गुज्रिएको र किरा लागिसकेको खाद्यवस्तुको भने फोटो खिचेर डालीमार्टमै बुझाएर फर्किएको थियो ।