भक्तपुर नगरपालिकाको बजेटः दुई अर्ब १८ करोड ४२ लाख

100

भक्तपुर । भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी उक्त रकम बराबरको बजेट प्रस्तुत गरेको हो ।

देको-मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया, अँचापोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणका लागि एक करोड रुपैयाँ, महेश्वरी खेलमैदानको लागि एक करोड, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न तीन करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न ६ करोड एक लाख विनियोजन गरेको छ ।

बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी तीन करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख, नगरबासीलाई खानेपानी सुविधा उपलब्ध गराउन एक करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋणतर्फ एक करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा १०० शैयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल सञ्चालन गर्न आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।