नियात्राः कसरी गरौँ स्वर्गको बयान ?

140

-जानु काम्बांग लिम्बु

सन् २०२२/०४/०५
स्थानः काठमाडौँ त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल

-खोई कसरी गरौँ म माइतीघरको बयान ? जहाँ बा–आमा, त्यहाँ स्वर्ग हो मेरो लागि, महाभारतमा अर्जुन इन्द्रद्वारा दिब्य सक्त्ति प्राप्त गर्न स्वर्ग पुगे जस्तै म पनि आमाको आशिर्बाद लिन पुरै चार वर्ष पछि नेपाल आएकी थिएँ । झापाको गर्मी पनि आमाको छहारीमा कति सितल लाग्यो । तर आमाको छेउमा बसेर स्वर्गको महसुस गर्दा गर्दै थाहै नपाई फर्कने बेला भएछ ।

अहिले म कर्मथलोतिर प्रस्थान गर्न बिमान चढेर मनको पखेटा पिÞmजाइरहेछ । मनभारि माइतीघरको सम्झनाहरू अटेस–मटेस गर्दै आइरहेछन्, थाहा छैन कुन अहिले सम्झनु अनि कुन भोलि सम्झनु ? अब एकैछिनमा फेरि नेपाल छाडेर उड्छु र पुग्छु भोलि बिहानै गन्तव्यमा जुन गन्तव्यमा म आमा बिहीन आमा बन्ने छु । त्यहाँ मलाई बिहानै मिठो मिठो खाने कुरो पकाएर आफैले नसके बहिनीहरूलाई पकाउन लगाएर खुवाउने आमा हुने छैनन् । तर, म मेरा आफ्नै सन्तानहरूको लागि मिठो–मिठो पकाएर खुवाउने आमा हुनेछु “मम्मी मैले तपाईंको हातको खाना कति मिस गरें नि“ ? मलाई छोराहरूले यसो भन्नेछन्, उनीहरूको यो भनाइले म आमा हुनुको खुशी महसुस गर्नेछु । आमाहरूकोलागि यो बाणी अमृत सरह हो, जुन अचेल थोरै आमाहरूले मात्र प्राप्त गर्छन् कारण आजभोली जमाना बद्लिएको छ धेरै जसो बच्चाहरूले जंग फुड खान्छन् । बटुकोमा दाल भात बोकेर छोरा–छोरीहरूको ओरिपरि दौडनु पर्छ, फकाउँदा पनि खाई दिंदैनन्, मलाई पनि छोराहरूदेखि टाढा रहँदा यहीं डरले सताई रहन्छ ।

लाग्छ म नहुँदा पकाउनको अल्सिले बाहिरको खाना मगाउँदै खालान् र आदत बस्ला ? भोलि बिहानै हिथ्रो एरपोर्टमा छोरा लिन आइपुग्दा, आमाले गरेको पुस्ता हस्तान्तरणलाई बखुबी निभाएकी छु भन्ने लाग्नेछ । मलाई छोराले हाँकेको कारमा बसेर जाँदै गर्दा भने म आमाको पछिपछि गैरहेकी रहेछु भन्ने हल्का हल्का फूल्न थालेको कपाल कारको ऐनामा हेर्दै सोच्ने छु, मेरा सन्तानहरूले पनि मैले जस्तै आमाको आगमनलाई हर्ष र आमासँग भैरहनुलाई स्वर्ग ठान्छन् कि ठान्दैनन् थाहा छैन तर म उनीहरूको वरिपरि रहेर रमाई रहनुलाई स्वर्ग ठान्छु । उनीहरू छन् र नै त आमा हुनुको स्वाभिमान बाँचेको हन्छ ।

हुन त म आमा मात्र हुन कहाँ पाउँछु र त्यहाँ ? जागिरे पनि हुनु पर्छ, म बेलायत बसेर मेरो देशको रेमिट्यान्स मात्र होइन, बेलायतकै पनि सरकारको ढिकुटी भर्छु । कर महिनै पिछे तिरेर म जस्ता बिदेशी कामदार कति छन् कति बेलायतमा, मैले काम गर्ने अस्पतालमा त कुनै बेला डाक्टर इन्डियन, स्टाफ नर्स अफ्रिकन र नेपाली गरेर सबै विदेशीले चलाइरहेका हुन्छौं । यहाँको मान्छेहरू कम्ति कर तिर्नेगरी थोरै घण्टा काम गर्छन् बिदेशी नै हौँ धेरै काम गरेर धेरै कर तिर्ने दानवीर हुन् ।

यहाँ बसेर काम गर्ने विदेशीहरू नहुनु हो भने युके सरकारको आम्दानी कसरी बढ्छ ? कहीले कहीं कर र एन आईले धेरै पैसा लैजाँदा महाभारतमा श्री कृष्णले दानवीर कर्णको कवच र कुण्डल दानमा माग्दाको जस्तै चित्त दुखेर आउँछ मलाई पनि । अचम्मैको छ युके सरकार एक हातले दिन्छ अर्को हातले लान्छ महिना मर्दा बैंक रित्तै । म दुई हप्ता जति आमासँग बसें, ओरिपरि “आमा …आमा ….भन्दै घुम्नुको मजै बेग्ले, आमाको बास्नै मिठो, जब मैले फिर्ने दिन गन्न थालेँ, मलाई परदेशको त्यो झन्झटिलो बसाई छाडी उतै बसिरहुँ झैं लाग्यो ।

वर्षौं पछि एक पल्ट भेटेको आमासँग २ हप्ता पनि बस्न नपाई फिर्नु पक्कै सजिलो थिएन तर यस्तै भैरहेको थियो । म भन्दा २ दिन अघि ठूलो भाइ हिड्यो, हिड्ने खेर भाइको अनुहार निन्याउरो लाग्यो । बिचरा बल्लैले आमासँग बिदा भएर कारमा चढ्यो । म र आमाले भाइहरू गएको सेतो कार परसम्म हेरि पठायौं । भाइहरूले पुरी काकाको घर काटेर जाने चोक तर्फ लागेपछि मैले आमाको अनुहार हेर्दै सोधें, ’आमा योपालि त भाइ जाँदा रुनु भएन त ? आमाले आँखाको घेरा घेरा पुगेको आँशु रोक्दै किन रुनु छुट्ने बेला, भरै नै काठमाडौँ पुगेर भिडियोमा हेर्दै बोलि हाल्छु छोरासँग पो भन्नु भो । म आमाको कुरो सुनेर छक्क परें, आधुनिक प्राबिधिसँग आमा समेत प्रभावित भैसक्नु भएछ, प्रयोगकर्ता मेरो आमा र नयाँ प्राविधि दुबैलाई मेरो सलाम ।

हामीले बाबा गुमाएको पनि पाँच वर्ष बितिसकेछ । बाबा बितेपछि सन् २०१८ मा एकपल्ट आएँ नेपाल, त्यसपछि सन् २०१९मा आउने भन्दा भन्दै कोभिड महामारी सुरु भो । त्यसपछिका तीन वर्ष फोन र भिडियो कल मै सिमित रह्यो हाम्रो समय । बेला बेला आमा भिडियो कलमा बोल्दा बोल्दै ठुल्ठुला आँशुका ढिक्का झार्नु हुन्थ्यो, यो दूर परदेशमा बसेर आमाको आँशुको ति ढिक्का पुछ्न नसक्नुको पिडाको बयान के गर्नु यहाँ ?
सुरुका ति दिनहरूमा “कोभिड“ सँग हामी अतिनै त्रसित भयौं, आफ्ना–आफन्तलाई कोभिड लाग्यो रे भनि सुन्दा मात्र पनि अब के हुने होला ? जस्तो लाग्थ्यो ्र काम पनि अस्पतालमा कोभिड लागेका बिमारी नहेरी धरै थिएन । सायद आमा त्यै सम्झेर मेरो छोरा–छोरी सुरक्षित छैनन् कि ? भनि रुनु हुन्थ्यो । कडा सुरक्षा सामग्री (पीपी) प्रयोग गर्दै सतर्कता अपनाउँदा अपनाउंदै पनि सबैलाई पालै पालो कोभिड लागेरै छाड्यो । हाम्रो परिवारमा सब भन्दा पहिले बेल्जियममा हुने ठूलो भाइलाई लाग्यो । भाइलाई कोभिड लाग्दा आमालाई नभन्ने निर्णय गरेर चुपचाप बस्यौं ।

तर, भाइको वेट बढी भएको र हल्का सास बढ्ने बिमार भएकोले निक्कै सारो पार्यो, अन्तोत्वगोत अस्पताल नै भर्ना भएर एक हप्ता बेसी बस्यो । भाइ निको भएपछि बुहारी र नानीहरूलाई भयो, त्यसपछि २०२० को डिसेम्बरमा मलाई पनि भयो । यसरी थुप्रै असहजताका बीच समय बितिरह्यो तर यात्रा गर्न भने पाइएन लक् डाउनका कारणले ।

आँखा ओरिपरि माइतिघरको आँगन, आँगन छोउछौउको बोट बिरुवा, फूलको बोट, सुपारी, आँप अनि आँगन बीचबाट पर ठूलो सडकसम्म जोड्ने सानो गोरेटो, गोरेटोले पुर्ब पश्चिम हुनेगरि छुट्याएको दुई भागका खालि ठाउँमा रोपिएका ठूल्ठुला क्रिश्मस रुखहरू अनि पुरानो घरको आँगनमा मकैको थाङ्ग्रा जस्तो थिङ्ग उभिएको अग्लो परेवाको खोर जम्मै जम्मै झल्झली याद आउंथ्यो ।

उतानो परेर माइतिघरको कल्पनामा डुब्दै निदाउँदा क्षणिक आनन्द त मिल्थ्यो तर कल्पनाले मात्र मन कहाँ अघाउँथ्यो र ? संसारमा कल्पना भन्दा मिठो चिज अरु केही हुँदैन र कल्पेर कल्पनाले कहिल्यै अघाइदैन पनि । तर यसपाली मेरा ति सबै सपना पुरा भए । केही दिन भएपनि म उहीं स्वर्ग भन्दा सुन्दर मेरो माइती घर बसेँ । महिना चैत्र भएकोले ओरिपरि मेरो कल्पनाको जति हरियाली नभएपनि हेर्न लायकै थियो । घर पछाडी मकै एकोहोरे गोड्ने बेला भएको छ, छरछिमेकीले गोड्दै पनि छन् । गाउँघर पहिले हामीले बिताएको जस्तो छैन, समय पÞmेरिएकोछ ।

वरपर हिड्न परे कान्छा भाइको कार छ, उहिले बाबुको अग्लो हिरो साइकलमा डन्डी मुनि छिरेर झुन्डिन्दै मरिमरि पैडल चलाएको जस्तो होइन र छैन पनि । गाउँघरमा अचेल केही नभए पनि घरैपिछे मोटर साइकल र स्कुटी छन्, रिक्साको बद्ला अटो छन् । गाउँ टोलमा बिकास भएको छैन भन्न मिल्दै मिल्दैन । मान्छेका मनभित्र कतिको शान्ति छ त्यो त थाहा छैन तर म दुईचार दिन बस्नेले गाउँघरमा शुखै शुख देखेँ ।

हाम्रो घर अगाडी घिसिङ्ग कान्छा काकाको घरमा कोही छैनन् अचेल, भाइ बहिनी हुर्केर जम्मै परदेश, बाऊ आमा कान्छा छोरा बुहारी सँग मन्त्री चोक सरेका छन् । मूल घरमा माइली बुहारी मात्र छिन् , अर्को तपÞर्m पोख्रेल काइँला काकाको छोराहरू दुबई गएर ठुलो पक्कि घर बनाएका छन् तर काका काकी भने त्यस घरमा बस्दैनन् रे । त्यत्रो ठूलो घरमा काका काकीलाई किन आँटेन होला ? सोध्ने समय भने पाइन ।

हाम्रो घर मास्तिर घिसिङ्ग बडाको घर उस्तै छ बरु मूलघर वर्तिर अर्को सानो चिट्टिकको निलो टिनको छानो हालेको नयाँ घर थपिएको छ । आमा भन्नु हुन्छ त्यहाँ घिसिङ्ग बडाको जेठा छोरा बुहारी बस्नु हुन्छ । घिसिङ्ग बडाको जेठा छोराको अफिसियल नाम त थाहा छैन तर गाउँमा बोलाउने नाम चाहिं “पर्दा“ हो ।

कान्छा छोराले भने लिम्बुनी बिहे गरेकोले फुपा भनि बोलाउँछौ हामी । यसरी आ–आफ्नै भाग्य भोग गरिरहेका छन् मान्छेले गाउँमा । म आएको केहीदिन पछि घिसिङ्ग कान्छाको घर मास्तिर बस्ने बाँस्कोटेनी बडी झुन्डिएर मरेको खबर मैले दिपायल हुँदा सुने ।
यसपाली हामी उहिल्यै बसेको ठाउँ सुदुरपश्चिम डोटी घुम्न गयौं । गाडी लगेर गएकोले थकान भने निक्कै महसुस भयो । घर आएर आमालाई सोध्दा थाहा भयो, बडीको छोरा रातदिन मातेर बुहारीसँग झगडा गर्ने गर्थ्यो रे त्यसदिन पनि बुहारीलाई छोराले कुटेर बुहारी घर छाडी हिडेपछि सहन नसकी बडीले आत्मा हत्या गर्नुभएछ । अचेल यसरी आफ्नै छोराहरू आमा बाबाका बोझ अथवा मृत्युका कारण बनेको सुन्दा भने धेरै दुःख लाग्छ । म एक्कासी जाडो ठाउँबाट निस्केर आएकोले गर्र्मीसंग सम्झौता गर्न निक्कै समय लाग्यो, जाडो महिना जस्तो हिड डुल गर्न सकिन यो पाली ।

सदा भन्दा तौल बढेकोले ढाड दुख्ने ब्यथा युकेदेखि नै लिएर आएकी थिएँ । मभन्दा १० दिन पछि मात्र बुढो आइपुग्ने भएकोले त्यस बीचमा मैले आफ्नो पुरै शरीर पाथिभरा अस्पताल भद्रपुरमा चेकजाँच गरें । त्यो भन्दा अघि आयुर्वेदिक उपचारको लागि “मिताई हाड जोर्नी क्लिनिक“ मन्त्री चोकमा पुगेँ त्यहाँ एक्सरे गर्ने ब्यबस्था रहेछ । एक्सरे गरेर हेर्दा नसा च्यापिएको भनि केही औषधी र कम्मर कस्ने पेटी दिए । केही दिन औषधी खाएँ तर मसाज गर्ने पेटी बाँध्ने काम भने गर्मीले गर्न सकिन । घरमा कान्छा काकाको छोरी बहिनीहरूले बेस्सरी सिहारे ।

खान सम्म खाइयो माछा मासु र अन्य पुराना परिकार, ईलामकोइस्कुसको जरादेखि खोक्लिङ्ग ताप्लेजुंगको बन तरुल समेत खाइयो । आमाले छोरा छोरी आउँछ्न भनेर गाउँदेखि याङ्ग्बेन ( रुखमा फलेको कपाल जस्तो च्याऊ ) मगाएर राखेको त खाइनसकेर लिएर पनिआइयो बेलायतसम्म । आज यहाँ बसेरसम्झंदा आफ्नै देश परदेश जस्तो लाग्छ, आज भन्दै भोलि भन्दै सारा जीवन यहीं बितिसक्यो । नेपालको माया र प्यास यति, लाग्छ कि निदाउँदा सपनाभरि, व्युझेपछि सम्झनाभरि नेपाल नै नेपाल हुन्छ ।
यो पाली छोटो समयको लागि गएकोले धेरै आफन्त र साथीसंगीहरू सँग भेट्न नसक्नुको दुःख मनभरि लिएर उडे म जहाज चढेर फेरि, अब कतिपल्ट यसरी फेरि फेरि उडिने हो थाहा छैन ?पुर्खाहरू मेटिए जस्तै बाबा पनि मेटिएर जानु भो अचेल माइत जाँदा बाबाको सितल छहारी धेरै याद आउँछ । उमेरमा त लाग्थ्यो, हामी जहिले यस्तै झरझर रहन्छौं तर बाबा बितेदेखि त लाग्छ बिस्तारै बिस्तारै हामी सबै मेटिने रहेछौं, आमा हुनुहुन्छ ।

आँगनमा काग कराउँदा पनि डर लाग्छ, डर पनि मानब जीवनको एक नभई नहुने पाटो हो, डर भएरै त मानिसले अनुसासन कायम राखेर सामाजिक समाजको निर्माण गरेको छ । मानिसको मनमा डर नहुनु हो भने मानब संसारको मानचित्र अर्कै हुन्थ्यो अथवा मान्छे पनि पशु सरह हुन्थ्यौं । यो पालि देशमा प्राकृतिक बिनास धेरै भएको पाएँ । पुर्ब पश्चिम जहाँ जहाँ पुगेँ प्रदुषण र आगलागीहरू देखें, हामी डोटी जाँदा बर्दियाको राष्ट्रिय निकुञ्जमा डढेलो लागिरहेको थियो ।

आखिर किन यस्ता कुराहरूमा नियन्त्रण छैन सरकार पक्षबाट मनमा कुरो खेलेरै हैरान भो । सोध्ने कसलाई जवाफ दिने कसले ? बाहिर बसेर आउँदा हाम्रो देशमा धेरै प्रदुषण देखिन्छ, जताततै फोहोर देखिन्छ । फोहोर ब्यबस्थापनमा सरकार कम्जोर छ अझै हाम्रो देशमा, हरेक चुनाबमा कड़ोडौ खर्च हुन्छ, त्यो खर्च देश बिकासमा लगाए कति राम्रो हुन्थ्यो देश ? बाहिर हिड्दा पब्लिक टोइलेटको अति खाँचो छ हाम्रो देशमा, जनताले दिशा पिसाप रोकेरै आफुमा अनेक रोगउब्जाउञ्छन तर टिलिक्क टल्कने गाडीमा हिड्ने नेताहरूलाई के थाहा ? जनताको दुख ?

ताप्लेजुङ्ग घर भइएकी लेखीका हाल बेलायतमा बस्दैं आउनु भएको छ ।