कविताः सहर

-विदुरप्रसाद तिमिल्सिना
घमाइलो वातावरणमा रमेको म
दिनलाई नै रात देख्छु
मध्यदिनको उकुसमुकुस वातावरणमा
कोलाहलले रङ पिट्दै हिँड्दा
म बसेको सहर मृत भेट्छु
मृत सहरमा मेरा जीवनका रङ्हरूले
आफ्ना रहर मारेको भेट्छु !

चर्को आवाजका मोटरका धुनमा
लर्कोमा जमेको जमातको साइरनमा
मृत्युले लखेटेको समयलाई
भिजेका नयनमा आँसुले खोज्दा सिरानी
सपना पूरा गर्ने अठोटमा
कठोर साधनाबाट सिध्दि खोज्दा
जीवित शरीर बन्न पुग्छ
अनायास निर्जीव !!

समय बिग्रियो अनि सम्बन्ध
समय र सम्बन्धको वासलात खोज्दा
सहरले रहरसङ्ग हिसाब बिगार्दा
कोलाहल सहर नै मृत भेट्छु ।
सहरी सभ्यतासङ्ग अभ्यस्त बन्न
मैले आफ्नै घाँटी रेट्छु
बाध्यताको पराकाष्ठामा आफू बाँच्दा
ढलबाट निस्केको गन्ध मिश्रित
धमिलो पानीमा मानव सभ्यताको
रातो रातो रगत भेट्छु !!!

चाँगुनारायण -८ भक्तपुर