राजकुमार हिरानी र अभिनेता शाहरुख खानको पहिलोपटक सहकार्य’डंकी’

162

बैशाख ७,

काठमाडौं : चर्चित लेखक तथा फिल्म निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको पहिलोपटक सहकार्य हुने भएको छ। नयाँ फिल्म ‘डंकी’मा हिरानी र शाहरुखले सहकार्य गर्न लागेका हुन्। मंगलबार फिल्मको घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। शाहरुख र हिरानी दुवैले रोचक भिडियो सामग्री बनाउँदै फिल्मको बारेमा जानकारी दिएका हुन्। यसै वर्षदेखि छायांकन गर्ने तयारीमा रहेको फिल्म २०२३ को क्रिसमसमा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

२०१८ मा प्रदर्शनमा आएको ‘जिरो’ पछि शाहरुखका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन्। उनले पुनरागमन गरेको फिल्म ‘पठान’ निर्माणको अन्तिम चरणमा रहेको छ। ‘डंकी’ उनको दोस्रो फिल्म हुनेछ। त्यस्तै २०१८ को सफल बलिउड फिल्म ‘सञ्जु’ पछि हिरानीले कुनै पनि फिल्म निर्देशन गरेका छैनन्। कीर्तिमानी फिल्म निर्देशकको रूपमा चिनिने हिरानीको फिल्मका लागि पनि धेरै दर्शक प्रतीक्षामा छन्। यस्तोमा शाहरुख र हिरानीको सहकार्य रोचक हुने अनुमान गरिएको छ। ‘मुन्ना भाइ एमबिबिएस’, ‘थ्री इडियट्स’, ‘पिके’, ‘सञ्जु’ लगायतका फिल्म लेखन तथा निर्देशन गरेका हिरानीले ‘डंकी’को लेखन, निर्देशन तथा सम्पादन पनि आफैले गर्नेछन्।