स्नेहा श्रेष्ठ बनिन् बेलायतकी पहिलो नेपाली मूलकी महिला अधिवक्ता

101

फागुन १३,

लण्डन : स्नेहा शाक्य श्रेष्ठ बेलायतको पहिलो नेपाली मूलकी महिला अधिवक्ता (ब्यारिष्टर) बनेकी छन्। अन्तिम तालिम सकिएसँगै गत हप्तादेखि उनी बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत अधिवक्ताको रुपमा सूचीकृत भएकी हुन्।सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा ७ वर्षको उमेरमा बेलायत आएकी थिइन्। उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी हुन्।

बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ। ब्यारिष्टरले अदालतमा न्यायाधीशसामु बहस गर्छन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्छन्।ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरूलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। बेलायतमा नेपाली मूलका ब्यारिष्टरहरू अत्यन्त न्यून रहेकाले यस पेशामा प्रवेश गर्न चाहने नेपालीलाई सहयोग गर्न आफू सदैव तत्पर रहने पनि उनले बताएकी छन्।बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित मुद्दा र अध्यागमनबारे कानुनी अभ्यास गर्ने छिन्। बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन्। जसमध्ये नेपाली मूलका ३ जना प्रा.डा. सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन्।