मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न

194

पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ माध्यमिक शिक्षा परीक्षा (एसईई)उतीर्ण गरेका विद्यार्थीहरुलाई बधाई तथा बिदाई गरिएको थियो । अघिल्लो वर्ष कोभिड १९ महामारीका कारण कार्यक्रम गर्न नपाएपछि संयुक्तरुपमा ५८ जना विद्यार्थीहरुलाई विशेष कार्यक्रमका बीच औपचारिक रुपमा मायाको चिनो प्रदान गरी बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक संजय खड्काले बताए ।
विद्यालय विद्यार्थीको दोश्रो घर भएको भन्दै प्रधानाध्यापक खड्काले उतीर्ण भएर बाहिरिएका विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले विद्यालयसंग सम्बन्ध दिगो रहिरहने बताए ।
बधाई तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले शिक्षालाई किताबी ज्ञानको दायरामा कैद गर्न नहुने बिचार व्यक्त गरे । प्रत्येक मानिससंग फरक क्षमता हुने र त्यसको पहिचान गर्न सक्नुपर्नेमा उनले जोड दिए । पढाइमा पछि परेका मानिस पनि जीन्दगीमा अघि बढेका उदाहरण दिंदै केसीले पढाइ संगै विद्यार्थीको विशिष्ठ क्षमता पहिचान गरी त्यसको विकास गर्न विद्यार्थी,अभिभावक, विद्यालय र राज्य लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि केसीले आफ्नो वडामा रहेको मदरल्याण्डले नगरपालिकाको अपेक्षा अनुरुप शिक्षा प्रदान गरिरहेको बताउदै सक्षम विद्यार्थी बाट नै सक्षम समाज बन्ने र त्यसमा विद्यालयको योगदान महत्वपूर्ण हुने बताए । आफ्नो समाज र राष्ट्रलाई कस्तो बनाउने भन्ने कुरा विद्यार्थी वर्गकै हातमा रहेको भन्दै उनले विद्यार्थी वर्गमा देश र समाजप्रति सकारात्मक भावनाको विकास गर्न शिक्षाको महत्व माथि पनि प्रकाश पारेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको परीक्षामा नेपाल टप गर्ने भक्तपुरकी बबिता ग्वाछालाई मदरल्याण्डको तर्फबाट बधाई दिदै सम्मान समेत गरिएको थियो । सोसो कार्यक्रमको संचालन महानगरीय प्रहरी वृत्त जगातीले गरेको थियो । वृत्त प्रमुख रहेका डिएसपि राम बहादुर केसीले आधारभूत शिक्षा एवं विद्यार्थीहरुले अपनाउनु पर्ने भूमिकाको विषयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै अन्जानमै हुनसक्ने अपराध र दुर्व्यसनबाट बच्न अपनाउनुपर्ने सावाधानीहरुबारे अवगत गराएका थिए ।
त्यसैगरी सामाजिक उत्प्रेरक बिकाश देव योन्जनले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरुले आफ्नो जीवनमा गल्ती गर्नै नहुने भन्ने नभएको भन्दै उनले गल्ती नदोर्याउन र गल्तीलाई सच्याउँदै सक्षम नागरिक बन्न प्रेरित गरेका थिए ।
विद्यालयकी संचालिका शर्मिला देउजाको अध्यक्षतामा संचालित कार्यक्रममा इप्सन अध्यक्ष जीबी खड्का, राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द,नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिप शुभचिन्तक, पारिजात विद्याकुन्जका प्रिन्सिपल विक्रम थापा, शिक्षाविद पद्मनाथ तिवारी, अभिभावक प्रतिनिधि भिमेश्वर थापा, प्राध्यापक अधिवक्ता विकल प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।