माधव नेपालको पार्टीमा किचलो सुरु, विद्यार्थीका अध्यक्ष नै असन्तुष्ट

111

असोज ३१, काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।

‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असल/सकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ?’

त्यस्तै उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि/मापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु’, पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् ।