कविताः अन्तिम यात्रा जिन्दगीको

-जानु काम्बाङ्ग लिम्बु
हिंडेर नसकिने बाटो जिन्दगीको
नाघेर नसकिने खाल्डो जिन्दगीको
जब नाघ्दै नाघ्दै गएर पुगिन्छ जहाँ
त्यहाँ पाइन्छ एकमुठी माटो जिन्दगीको ।

पहिले नै भेटिन्छन् हजार दुखहरू बाटोमा
लैजान सकिन्न सुख गोजीबिनाको कात्रोमा
एक मुठी माटो र आँसुको भारि बोकेर
एक्लै निस्कन्छौं हामी अन्तिम शव यात्रामा ।

केही छैन भोलि लैजाने, किन गर्नु लोभ आज
केहीदिनको पाहुना मात्र हौँ धर्ती आकास माँझ
जब जान्छ सास अनि लास बन्दछौँ हामी
लासमा न रहन्छ नाम, न रहन्छौं कुनै खास ।

आज छौं, भोलि छौं, पर्सि त थियो हुन्छौं
मरेपछि न धागो, न सियो हुन्छौं
कसले देख्या छ र अर्को जन्मको रुप ?
पुतली हुन्छौं या उसलाई जलाउने दियो हुन्छौ ।।

ताप्लेजुङ्ग, हालः अक्सफोर्ड बेलायत