राजधानीमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता

80

असार २६,
काठमाडौं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धि भएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो । काठमाडौँ उपत्यका बाहिरका करिब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए।
अहिले १२९ लट मोटरसाइकल दर्ता छन् । यसरी सवारी साधनको दर्ता वृद्धिसँगै मुलुकको व्यापार घाटा थप बढ्न गई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ । कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजश्व बुझाउने, किनबेच हुँदा नामसारी हुने गर्दछ ।

वागमती प्रदेश अन्तर्गत सो कार्यालयले घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको छ । कामको प्रकृतिअनुसार फरकफरक भवनमा सेवाग्राही आवतजावत गर्नुपर्ने हुँदा उनीहरु अलमलमा पर्ने गरेको पाइएको छ । मोटरसाइकलको लटअनुसार सेवाग्राहीले प्राप्त गर्नुपर्ने सेवा तथा सुविधाका लागि पनि कार्य कक्ष विभाजन गरिएको छ । कोभिडका कारण अहिले जोर बिजोर प्रणाली लागू गरिएकाले भीड आधा कम भएको जनाइएको छ । गुर्जुधारा चोकदेखि माथि सेवाग्राहीलाई देखेपछि विचौलियाले आकर्षित गरी शुल्क लिएर सेवा दिन अनेक नामका केन्द्रसमेत छन् । त्यस्ता केन्द्रबाट सेवाग्राहीलाई फुत्कन सजिलो छैन ।

कार्यालय तथा त्यस आसपास क्षेत्रमा रहेका लेखापढी व्यवसायी तथा अन्य पसलमा सेवाग्राहीलाई ‘तपाईंको काम एकै छिनमा हुन्छ, बस्दै गर्नुस् । हामी गरिदिन्छौँ’ भन्ने विचौलियाको कमी छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको करिब ३३ रोपनी जग्गा भएको उक्त स्थानमा कार्यालयका लागि भवन निर्माण गर्न दुईपटक नक्सा पासका साथै माटो परीक्षण गरिएको भए पनि त्यसले साकार रुप लिन सकेको छैन ।