भारत जानेको लर्को तर, कोरोना त्रास कायमै

92

असार २५,
कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठुलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका थिए । संक्रमणको रफ्तार केही कम भएसँगै निषेधाज्ञा खुकुलो भएपछि उनीहरु फेरि कामको खोजीमा भारत जान थालेका हुन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक सरदर तीन हजारको संख्यामा नेपालीहरु भारततर्फ जाने गरेको नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए । हाल यो नाका हुँदै नेपाल भित्रिनेभन्दा भारत जानेको संख्या अत्यधिक रहेको उनको भनाइ छ । उनका अनुसार बिहीबार यो नाकाबाट ४४९ जना नेपाली भित्रिएका छन् भने २ हजार ३९६ जना भारततर्फ प्रस्थान गरेका छन् । चैत १ गते यता त्रिनगर भन्सार नाकाबाट ५२ हजार १२५ जना नेपाली नागरिक कामको सिलसिलामा भारततर्फ गएको उनले बताए । यो अवधिमा केही साता निषेधाज्ञाका कारण भन्सार नाका सुनसानजस्तै थियो । त्यतिबेला भारत जानेको संख्या लगभग शून्य रहे पनि पछिल्लो समय दैनिक दुई/तीन हजारजनाका दरले नेपालीहरु भारततर्फ जाने गरेका छन् । यो खबर रातोपाटीले प्रकाशित गरेको छ ।