पहिरोको कारण दुइ जनाको ज्यान गयो

61

असार १८,
सिन्धुली । सिन्धुलीमा बुधबार रातिदेखि आजसम्म निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण आएको बाढी र पहिरोका कारण केही मानवीय र धेरै भौतिक क्षति भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोको कारण सिन्धुलीमा हालसम्ममा दुई जनाको ज्यान गएको हो।

बिहीबार बिहान साढे पाँच बजेतिर आएको पहिरोले लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा बस्दै आएका एक वृद्धको ज्यान गएको छ। कमलामाई नगरपालिका ८ पहिरेस्थित बम्जनको आश्रममा सुतिरहेका मकवानपुर हेटौँडा उपमहानगरपालिका १३ का ६९ वर्षीय महात्मा गुरु लरिनबहादुर हिम्दुङको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

त्यस्तै, कमलाखोलामा आएको बाढीले बगाउँदा अर्का एकजना वृद्धको ज्यान गएको छ। कमला खोलाले बगाउँदा कमलामाई नगरपालिका –५ फोस्रेटारका ८७ वर्षका सन्तबहादुर मगरको ज्यान गएको सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बुद्दिमणि नेपालले जानकारी दिए। सुनकोशी नदी, कमला नदी, चदा खोला, मरिण खोला, ग्वाङ खोला लगाएतका दर्जनौँ साना ठूला खोलाहरूमा पानीको बहाव बढेको छ। वर्षाका कारण जिल्लाका अधिकांश स्थानीय तह जाने सडकहरू भत्किएका छन्।