भिक्षु अश्वघोषको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने मन्त्रिपरिषद्को निर्णय

74

चैत २४,
काठमाडौँ– मन्त्रिपरिषद्को आजको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ । भिक्षु अश्वघोषको गत शुक्रबार निधन भएको थियो । यसअघि उनी गम्भीर अस्वस्थ हुँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायतमन्त्री र सांसदहरु उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए । भिक्षुृ अश्वघोष वि.सं २०४६ को जनान्दोलनपछि तत्कालीन संसद्मा तत्कालीन नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । नेपाली भिक्षु सांसदमा पुगेको त्यो नै पहिलो घटना थियो । RSS