Saturday, October 3, 2026
Home समाचार लगातार झरीः बाढी पहिरोबाट ३२ जनाको मृत्यु, २९ बेपत्ता

लगातार झरीः बाढी पहिरोबाट ३२ जनाको मृत्यु, २९ बेपत्ता

140
खाटचौरमा पहिरो गएपछि नियाल्दै स्थानीय, तस्विर केदार ढकाल

असार १८,
काठमाडौं । गत जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । २०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।

केन्द्रले मनसुनजन्य विपद्मा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको छ । केन्द्रले बिहीबार दिउँसो २ बजेसम्म अद्यावधिक गरेको तथ्यांक अनुसार यस वर्ष जेठ ३१ देखि असार १७ गतेसम्मको अवधिमा ४२ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । डोटीमा चार जना र रोल्पामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चितवन र तनहुँमा २(२ जनाको मृत्यु भएको छ ।

१४ जिल्लामा एक/एक जनाको मृत्यु भएको छ । पाँचथर, सप्तरी, सिन्धुली,काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक/एक जनाको मृत्यु भएको हो । मनसुन सुरुमै सक्रिय रुपमा भित्रिंदा आएको बाढी र पहिरोले बढी क्षति पुर्‍याएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । जेठ ३० गते देशभर मनसुन फैलिएको थियो । अनलाइन खबरबाट