फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

281

असार १८,
काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ । बिहान साढे १० बजेदेखि राजमार्गको सो सडक अवरुद्ध भएको हो ।

गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्र्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए ।
सुरक्षा निकायले जेसिबीको सहायताले एकतर्फी भए पनि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथले बताए । पूर्वपश्चिम राजमार्गको यस खण्डमा आज बिहानसम्म पनि सवारी साधन सञ्चालन हुन नसक्दा सडकमा पूर्व र पश्चिम जाने सवारी साधनको करिब चार किलोमिटर भन्दा लामो लाइन छ ।

राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो । गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुलसहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।

लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारी साधन सञ्चालन गराउने गरी प्रभावकारी ढङ्गले काम हुन नसकेको भन्दै चालकहरुले गुनासो गरेका छन् । सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले पूर्व जाने सवारी साधनलाई डण्डा र पश्चिम जाने सवारीसाधनलाई गैँडाकोटतर्फ नै रोकेर राखेको छ । बाढीले बगाएको डाइभर्सन पुनःनिर्माण गरेर सवारी साधन सञ्चालन गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म, नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका कर्मचारी खटिएका छन् ।