नेता थापाको उपचारकोलागि चन्दा संकलनः प्रसाईको सहयोग नलिने घोषणा

122

जेठ १५,
काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको उपचारकालागि चन्दा संकलन कार्य सुरु भएको छ । नेता थापाको जीवन रक्षाका लागि मानिसहरुले स्वःस्फूर्तरुपमा जसरी चन्दा दिइरहेका छन् । थापाको उपचारका लागि चन्दा संकलन सुरु भएपछि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर, थापाको परिवार र शुभेच्छुकहरूले सद्भावका लागि धन्यवाद भन्दै प्रसाईले दिने भनेको सहयोग आवश्यक नपर्ने बताएको छ ।

कोरोना संक्रमणका कारण मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्य अवस्था गम्भीर छ । उनको उपचारमा सहयोग पुर्‍याउन परिवार र विवेकशीलका कार्यकर्ताले चन्दा संकलन अभियान सुरु गरेको लगभग २४ घण्टा बित्दैछ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार अहिलेसम्म गोफण्ड नामक अनलाइन प्लेटर्फममार्फत् झण्डै २३ हजार डलर (२४ लाख रुपैयाँ) र बैंक खातामा २६ लाख ५० हजार गरी झण्डै ५० लाख रुपैयाँ रकम संकलन भएको छ ।

अनलाइन प्लेटर्फम गो फण्डमा २४ घण्टाको अबधिमा हरेक घण्टा १ हजार डलर रकम संकलन भइरहेको छ, जहाँ विदेशमा बसोबास गर्ने नेपालीहरुले ५ देखि ५ सय डलरसम्म सहयोग गरिरहेका छन् । अहिलेसम्म ४ सय ५० जनाभन्दा बढीले अनलाइनमार्फत् डोनेसन दिएका छन् । संयोजक पाण्डेका अनुसार थापाको एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको छ । यही प्रविधिबाट उपचारका लागि ग्राण्डी अस्पतालबाट मेडीसिटीमा ल्याइएको हो । थापाको उपचारमा दिनको ४/५ लाख रुपैयाँ लाग्ने भएपछि सहयोग संकलन सुरु गरिएको थियो । पाण्डेले भने, ‘आज साँझ चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्थाबारे बताउनुहुन्छ, त्यसपछि थप निर्णय होला ।’
हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’ उनीहरुले प्रेस नोटमार्फत भनेका छन् ।