बादल भन्छन् जित्छु: एमाले सबैको भोट पाउँछु

57

मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) का तर्फबाट साझा गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

गठबन्धनका तर्फबाट डा. देवकोटाले उम्मेदवारी दिने टुंगो बुधबार नै लागिसकेको थियो। बादलको उम्मेदवारी रहने पहिल्यै चर्चा चले पनि देवकोटालाई विपक्षीसहित समर्थन रहने निर्णय सुनेपछि बादल हच्किएका र हार्ने चुनाव नलड्ने भनेका खबर सार्वजनिक भएका थिए।

तर आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय लिएको हो। नेमकिपाका तर्फबाट पनि आजै निर्णय भई तामाङले उम्मेदवारीका लागि मनोनयन दर्ता गरिएका छन्।

देवकोटाले बिहान साँढे १० बजे उम्मेदवारी दर्ता गरेका हुन्। देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल छन् भने समर्थकमा कांग्रेस सांसद राधा घले छिन्।

देवकोटापछि एमालेका तर्फबाट गृहमन्त्रीसमेत रहेका बादलले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। बादलको प्रस्तावकमा एमाले संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेकी छिन्।

यस्तै, नेपाल मजदुर किसान पार्टीका नेता कृष्णबहादुर तामाङको पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ। तामाङको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सृजना सैंजू रहेका छन्।