सरकारको आग्रहः सिक्का पैसा खर्च गर्नुस्

228

काठमाडौं । कोरोना भाइरस महामारीको यो समयमा आफ्ना जनतालाई आफूसँग भएको पैसा खर्च गर्न आह्वान गर्ने देशहरु सायदै होलान् । तर अमेरिकी सरकारले चाहिँ जनतालाई आफूसँग भएका सिक्का पैसाहरु खर्च गर्न अपिल गर्नुपरेको थियो । विश्वको सबैभन्दा ठूलो आर्थिक महाशक्ति अमेरिकाले ठूलो परिमाणका नोटहरु खर्च गर्न नभनी किन सानो परिमाणका सिक्काहरु खर्च गर्न जनताहरुसँग अनुरोध गर्यो होला त रु वास्तवमा सरकारले यस्तो अपिल गर्नुको खास कारण रहेछ ।

यो घटना केही अगाडिको हो । कोरोना महामारी चरम रुपमा वृद्धि भएको अवस्थामा जारी लकडाउनका कारण अमेरिकी बजारमा डलर तथा सेन्टका सिक्काहरुको चरम अभाव भयो । एकातिर महामारीका कारण बजारहरुमा कम कारोबार भयो भने कारोबार हुँदासमेत धेरै मानिसहरुले भुक्तानीका लागि रकमको सटही गर्नुको साटो कार्डको प्रयोग गर्न थाले । यसरी जनताहरुसँग भएका सिक्काहरुसमेत किनमेलमा प्रयोग हुन नपाएपछि बजारमा सिक्काको प्रवाह भएन । जसका कारण सरकारले नै जनताहरुलाई आफूसँग भएका सिक्का खर्च गर्न आग्रह गर्नुपरेको थियो ।

आफूसँग भएका सिक्काहरु किनमेल गर्दा खर्च गर्न वा बैंकमा गएर नोटसँग सटही गर्नका लागि अमेरिकी केन्द्रीय बैंकले अपिल नै गरेको थियो, त्यतिबेला । बजारमा सटहीका लागि सिक्काको अभाव भएसँगै नगद कारोबार नै गर्न नसकिने अवस्था आएसँगै सरकारले यस्तो अनुरोध गर्नुपरेको थियो ।
उक्त अनुरोध पश्चात् पनि बजारमा सिक्काको तरलता पर्याप्त हुने अवस्था आएन । कोरोना भाइरस महामारी वर्षैभरी जारी रहने र बजारमा सिक्काको अभाव भइनै रहने अवस्था रहेको हुँदा अमेरिकी सरकारले सिक्का निष्कासनको दर नै बढाउनु परेको छ ।

यसअघि मासिक १ अर्ब सिक्का तयार गर्ने गरेकोमा हाल मासिक १ अर्ब ६० करोड सिक्का बजारमा पठाउने गरिएको छ । यतिमात्र होइन, सिक्काको समस्या समाधान गर्नका लागि अमेरिकी सरकारले सिक्का टास्कफोर्स नै गठन गरिसकेको छ । – एजेन्सी