प्रधानमन्त्रीको कडा निर्देशनः गुटगत भेलामा सहभागी नहुनु

183
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिए । उनले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिए । पार्टी विधिविधान अनुसार चल्ने भन्दै उनले मनपरी गर्ने छुट कसैलाई नभएको बताए । कानुनका नजरमा सबै समान हुने भन्दै उनले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गरे । उनले भने, “भोलि भेला आह्वान गरेको छ रे । नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पुर्ण नहुन नेता कार्यकर्ताहरूलाई सजग सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन ।”