Sunday, September 27, 2026
Home समाज भागरथी हत्या प्रकरण : आरोपित दिनेशलाई आज सुधार गृह पठाइने

भागरथी हत्या प्रकरण : आरोपित दिनेशलाई आज सुधार गृह पठाइने

272

फागुन २६,
बैतडी : भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका दोगडाकेदार गाउँपािलका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ।

दिनेशलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाएको थियो। अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको हो।

दिनेशलाई बुधबार डोटीमा रहेको सुधार गृह पठाउने तयारी छ। गत माघ २१ मा विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ मास्थानीय लवलेक जंगलमा मृत फेला परेकी थिइन्। त्यसपछि प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागन ४ मा नियन्त्रणमा लिएको थियो। प्रहरीले जिल्ला अदालतबाट चार पटक ५÷५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो। दिनेशले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसेकेका छन्। सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन्।

भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखाएको थियो।