रसुवागढी नाका खुल्यो

414

फागुन २२,
रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोसाकजस्ता मालवस्तु आयात भएका र ती सामग्री छिटो भन्दा छिटो काठमाडौँ पठाउन जाँच परीक्षण कार्यलाई समेत तीव्रता दिइएको छ ।

नेपालीको दशैँ जस्तै चीनको तिब्बतमा वर्षको एक पटक कम्तीमा तीन हप्ता मनाइने ल्होसार मान्न सबै कामदार घर घरमा जाने भएका कारण बन्द भएको व्यापारिक कारोबार अबका दिनमा निरन्तर हुने भन्सार कार्यालयले जनाएको छ । सामग्री परीक्षणका लागि कार्यालयले यथेष्ट जनशक्ति परिचालन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । गत तीन महिना अगाडिदेखि रसुवामा कोरोनाको सङ्क्रमण शून्यमा झरिसकेको र कोरोनाविरुद्धको खोपसमेत लगाउन शुरू भई सबै नागरिक भयरहित वातावरणतर्फ फर्किसकेकाले जिविकोपार्जनका लागि गर्दै आएका पेशा वा व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सुझाव दिएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।अनिलकुमार खरेलले बताए ।