झापामा पाँचवटा बीओपी थपिए

160

फागुन १०,
झापा । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउनेउद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट ९बीओपी० उद्घाटन गरिएको छ।
पाँचवटै बीओपीको मेचीनगर नगरपालिका-५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

मेचीनगर-१ स्थित तिरिङ, भद्रपुर-३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्‍जको आमगाछीमा स्थापना गरिएका बीओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो। यीसँगै जिल्लामा बीओपीको सङ्ख्या १७ पुगेको छ। एउटा बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायव महानिरीक्षक दाहालले बताए। यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौरीगञ्‍ज, घेरावारी कुञ्‍जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गरी सकिएको छ। उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बीओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए।