फेसबुक र टेस्ला नयाँ अमेरिकी राष्ट्रपतिसँग खुसी छैनन्

123

माघ १०,
काठमाडौं । जो बाइडनले अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै ठूला प्रविधि कम्पनीले खुसी व्यक्त गरिरहेका छन् । एप्पल, गुगललगायत कम्पनीका सीईओले बाइडनलाई बधाई दिइसकेका छन् । बाइडनले पदभार ग्रहणसँगै गरेका विभिन्न घोषणालाई धेरैले स्वागत गरेका छन् । जलवायु परिवर्तन तथा आप्रवासीसम्बन्धी ट्रम्प प्रशासनका निर्णय उल्ट्याउने गरी बाइडनले गरेको निर्णयमा प्रविधि क्षेत्रका मानिसहरु खुसी छन् । तर, यस विषयमा फेसबुकका सीईओ मार्क जुकरबर्गलगायतका मानिसहरु भने मौन छन् । माइक्रोसफ्टका सीईओ सत्य नडेलाले आफू कोभिड–१९ तथा जलवायु परिवर्तनलगायत विषयमा बाइडन र उपराष्ट्रपति कमला ह्यारिससँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौताबाट हात झिक्ने तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँगको सम्बन्धविच्छेद गर्ने निर्णय गरेका थिए । साथै उनले आप्रवासनसम्बन्धी नियममा परिवर्तन गर्दै विभिन्न मुस्लिम बाहुल्य मुलुकमाथि भ्रमण प्रतिबन्ध लगाएका थिए ।
प्रविधि जगतका सबैजसो प्रमुख तथा कम्पनीले आधिकारिकरुपमा अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै उनका नयाँ घोषणाक‌ो स्वागत गरिरहँदा टेस्लाका सीईओ एलन मस्क र फेसबुकका सीईओ मार्क जुकरबर्गले चाहिँ कुनै सार्वजनिक वक्तव्य जारी गरेका छैनन् ।

गुगलका सीईओ सुन्दर पिचाईले समेत कोरोना भाइरस महामारीमा राहत तथा जलवायु सम्झौतामा पुनः आबद्ध हुनेलगायत बाइडनका निर्णयको सह्राना गरेका छन् । यी महत्वपूर्ण विषयमा सहयोग गर्न गुगल तयार रहेको उनको भनाइ छ । त्यस्तै एप्पल सीईओ टिम कुकले पनि बाइडन र ह्यारिसलाई बधाई दिँदै जलवायु परिवर्तन, आप्रवासन तथा कोभिड–१९ बारे लिएको निर्णयको स्वागत गरेका छन् । विशेषगरी आप्रवासन नीतिलाई लचिलो बनाउने बाइडनको निर्णयको कुकले खुलेर प्रशंसा गरेका छन् ।