Thursday, October 22, 2026
Home अन्तर्राष्ट्रिय किन हटाइयो चिनियाँ पूर्वराष्ट्रपति हूलाई पार्टी सम्मेलनको मञ्चबाट ?

किन हटाइयो चिनियाँ पूर्वराष्ट्रपति हूलाई पार्टी सम्मेलनको मञ्चबाट ?

44

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको कंग्रेस (सम्मेलन) को क्रममा पार्टीका पूर्व सर्वोच्च नेता तथा पूर्व राष्ट्रपतिसमेत रहेका हु जिन्ताओलाई मञ्चबाट हटाइएको भिडियो अहिले सामाजिक सञ्जालमा निकै साझा गरिएको छ।

यसले पार्टीभित्र जिन्ताओको स्थान र आन्तरिक मतभेदलाई लिएर विभिन्न अड्कल तथा अनुमान भइरहेका छन्।

राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलको सम्मेलन हलमा चिनियाँ कम्युनिष्ट पार्टीको हरेक पाँच वर्षमा हुने महत्त्वपूर्ण कंग्रेसको समापन समारोहको क्रममा जिन्ताओलाई बाहिर निकाल्दै गरेको भिडियोले विश्वको ध्यान तानेको हो।

सो भिडियोका कारण उब्जिएका प्रश्नहरूको जवाफ चिनियाँ सरकारले दिएको भने छैन।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जिन्ताओको स्वास्थ अवस्था राम्रो नभएकाले मञ्चबाट निकालिएको उल्लेख गरेको छ। समाचारमा त्यस्तो भनिए पनि भिडियोमा भने ७९ वर्षका जिन्ताओ मञ्च छोडेर जान नमानेको देखिएको छ। तर त्यसको जवाफ भने अहिलेसम्म केही आएको छैन।

जिन्ताओ सन् २००३ देखि २०१३ सम्म चीनको राष्ट्रपति थिए । त्यसपछि सी जिनपिङ राष्ट्रपति बनेका हुन्। सीले आफू चाहेसम्म पार्टी तथा देशको नेतृत्वमा बस्न पाउने व्यवस्था गरेका छन्। उनको तेस्रो कार्यकाल सुरु हुँदैछ।

सीकै छेउमा बस्न लागेका जिन्तओलाई मञ्चबाट ‘जबरजस्ती’ निकालिएको जस्तो देखिने भिडियोका कारण पार्टी भित्रको आन्तरिक मतभेद र सी को दबदबालाई देखाउने विश्लेषण गरिएको छ।

दुई व्यक्तिले जिन्तओलाई समातेर बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भन्दै गरेको भिडियोमा देखिन्छ। सीले पनि केही बताएकोजस्तो देखिए पनि स्पष्ट भने भएको छैन।

भिडियोमा देखिएको घटनाले चिनियाँ राजनीतिमा रहेको शक्ति संघर्षको प्रदर्शन वा जिन्ताओको स्वास्थ्य अति नै गम्भीर रहेको भन्ने देखाउने अनुमान गरिएको छ।

एक हप्तासम्म चलेको चिनियाँ कम्युनिष्ट पार्टीको कंग्रेसले सीलाई माओ झेदोङपछिका सर्वाधिक शक्तिशाली नेता बनाएको छ।