Sunday, September 27, 2026
Home समाचार निर्वाचनका लागि तयार रहन आग्रह

निर्वाचनका लागि तयार रहन आग्रह

89

माघ ६,
रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिएका हुन् । प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुख भेला भई जिल्लाको समसामयिक विषयमा छलफल गर्ने चलन रहेको छ ।
निर्वाचनको समय नजिकिँदै गएकोले आ–आफ्ना कार्यालयमा रहेका सवारीसाधनको लगत तयार गरी विवरण पठाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जनतामाझ प्रदान गरिएको सेवाअन्तर्गत सरकारी निकायबाट भएका काम एवं विकास निर्माणमा गरिएका खर्चको विवरण पनि क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराई आम नागरिकसामु जानकारी गराउने कार्यमा सहयोग पुर्याउन सरोकारवाला निकायलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ । सबै निकायको सहभागितामा विकास निर्माणको स्थलगतरूपमा कार्यप्रगति निरीक्षण गराउने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुखलाई सुझाव दिइएको छ ।