सबै विद्यालय खुले भक्तपुरका

213

माघ ४,
भक्तपुर । विश्वरभर फैलिएको कोरोना भाइरसको त्रासको कारण देशभरका विद्यालय गत चैतदेखि बन्द थिए । धेरै विद्यालयहरुले अनलाईन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएका थिए । तर, सबै विद्यार्थीहरु यसको पहुँचमा थिएनन् ।
तर, आइतबारदेखि भने भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा रहेका सामुदायीक तथा संस्थागत विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितमा नै कक्षा सुरु भएको छ । योसंगै जिल्लामा रहेको सबै विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सुरु गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार मध्यपुरले भने उपत्यकामा नै सबैभन्दा अन्तिममा निर्णय गरेर कक्षा संचालन गरिएको बताए ।
नगर प्रमुख श्रेष्ठले भने ‘भोली कुनै समस्या आएमा पूनः बन्द गर्ने र स्वास्थ्य सुरक्षाको नियमलाई पालना गर्दै भौतिक कक्षा सुरु निर्देशन दिएका छौं ।’

त्यसकोलागि मापदण्ड अनुसार भए नभएको हेर्न नगरपालिकाले अनुगमन समेत गर्ने भएको छ ।
आइतबारदेखि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थिति मै कक्षा सञ्चालन भएका छन् ।
नगरपालिकाहरुले अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक र शिक्षिका, सञ्चालक लगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको जानकारी दिएका छन् ।
चाँगुनारायण नगरपालिकाले नगरक्षेत्र अन्तर्गतका विद्यालयहरु गत मंसिर ९ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्दै आएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले भने ‘अहिलेसम्म कुनै समस्या आएको छैन्, पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न भनेका छौं । ’

भक्तपुर नगरपालिकाले पुस १ गतेबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरुको कक्षा सञ्चालन सुरु गरिसकेको छ । यस नगरपालिका भने जोर विजोर, आलोपालो गरेर कक्षा संचालन हुदैं आएको थियो ।
सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले माघ ४ बाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालनको तयारी गरेको छ । विद्यालय खुला गर्ने सन्दर्भमा नगरपालिकाले निर्णय गर्नुअघि नै शिक्षक, अभिभावक, विभिन्न शिक्षक संघ र विद्यार्थीका प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।
भक्तपुर नगरपालिकाले पुस १ गतेबाट ८, ९ र १० कक्षाका विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको र माघ १ गतेबाट शिशु कक्षादेखि १० कक्षा सम्मकै कक्षा सञ्चालन गरेको छ ।
विद्यालयले विद्यार्थी कक्षा प्रवेश गर्नुअघि ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने र मास्कलाई अनिवार्य गर्न स्थानीय सरकारले कडा रुपमा निर्देशन दिएका छन् ।
प्रकोपका कारणले गत चैतको पहिलो हप्ताबाट बन्द रहेका भक्तपुरका विद्यालयहरु संचालनमा आएका छन् । कतिपय विद्यालयले भने जोर विजोर रोल नम्बरको आधारमा कक्षा सुरु गरेका थिए ।