निश्चलले घोषणा गरे ‘जिन्दाबाद’

299

माघ ४,
काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । वि।सं। २०३७ साल माघ ४ गते दोस्रो सन्तानको रुपमा उनको जन्म काठमाडौंमा भएको थियो । उनका एक दिदी र एक बहिनी छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् ।

फिल्म निर्देशक हुनुभन्दा अगाडि निश्चल खेलाडी र गायक बन्न चाहन्थे । उनले यी क्षेत्रमा लामो समय संघर्ष पनि गरे तर सफलता पाउन सकेनन् । डेढ दशकअघि उनले गायक बन्न केही गीतहरु रेकर्ड गराएका थिए । तर, अहिले ती गीतहरु कुन कुनामा छन् उनैलाई थाहा छैन । गायन र खेलकुदमा सफलता नमिलेपछि उनी थ्रिडी एनिमेसन अध्ययनका लागि अष्ट्रेलिया उडेका थिए ।

‘लुट’ बाट नेपाली फिल्मको धार नै परिवर्तन गरेका निर्देशक बस्नेतले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । पछिल्लो निर्देशित फिल्म ‘लुट २’ बाट आलोचना खेपेपछि चार वर्ष फिल्म निर्देशन नगरेका उनी यो समयमा फिल्म अभिनयमा व्यस्त भए । ‘दुई रुपैयाँ र प्रसाद’ मा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा मोडलिङसँगै आवाज पनि भरेका छन् ।

अब चार वर्षपछि उनी फिल्म निर्देशनमा फर्किँदैछन् । आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमार्फत यस वर्ष फिल्म ‘जिन्दाबाद’ निर्देशन गर्ने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यही दिएँ आफैंलाइ शुभकामना ।’ फिल्मको स्क्रिप्ट ‘कर्णाली ब्लुज’ फेम्ड लेखक बुद्धि सागरले लेखेका हुन् ।