‘एउटा यस्तो प्रेम कहानी’ कस्तो चल्यो ?

152

माघ ४,
काठमाडौं । गएको पुष १० गतेबाट ९ महिनापछि सञ्चालनमा आएका सिनेमा हलमा माघे संक्रान्तिबाट अभिनेता शिव श्रेष्ठ निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको छ । अन्य निर्माता यो समयमा फिल्म प्रदर्शन गर्न तयार नहुँदा अभिनेता श्रेष्ठले जोखिम उठाएका थिए । यो फिल्मले सिनेमा हलमा दर्शक फर्काउनेमा फिल्मकर्मीदेखि हल सञ्चालकसम्म पूर्ण विश्वस्त थिए ।

तर, मल्टीस्टारर यो फिल्मलाई प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको खडेरी लागेको छ । फिल्मले घरेलु बजारबाट शहरका भित्ता(भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा उठाउन समेत हम्मेहम्मे पर्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा सिनेमा हलमा दर्शक बढ्न सकेका छैनन् । समीक्षकले त यो फिल्मलाई शिव श्रेष्ठको करिअरकै सबैभन्दा कमजोर फिल्म भनेका छन् ।

वितरक गोपालकाजी कायस्थले सिनेमा हलमा फिल्मको अवस्था दयनीय रहेको स्वीकार गरे । उनले भने ‘बिहीवार केही राम्रो थियो । शुक्रवार विजोग भयो । शनिवार पनि हलमा दर्शकको उपस्थिति त्यस्तो उत्साहजनक थिएन । आइतवारबाट झन् डामाडोल नै छ ।’ नयाँ फिल्म हेर्न समेत दर्शक किन हलमा नआएका होलान् रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘फिल्म नै गतिलो हुनुपर्‍यो नी १’

दिपेश सापकोटा निर्देशित यो फिल्मको पूरा छायांकनै नभइ प्रदर्शन गरिएको हो । प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारको डबिङ समेत गरिएको थिएन । आफूहरुलाई सुनाएको कथा अनुसार छायांकन नभएको भन्दै कलाकारहरुले फिल्मको प्रचार-प्रसार नै बहिस्कार गरेका थिए । फिल्म कमजोर रहेको जानेरै होला निर्माण टिमले पनि प्रचार-प्रसार खासै गरेन । सामान्य समयमा फिल्म प्रदर्शन गरेको भए निर्देशकदेखि कलाकारसम्मलाई समीक्षक र दर्शकबाट गालीको वर्षा हुने थियो । यो समयमा फिल्म प्रदर्शन गरेर निर्माण टिम यसबाट धेरै हदसम्म बचेको छ । तर, फिल्मकर्मीहरुले भने ४० वर्ष फिल्म इन्डस्ट्रीमा विताइसकेका र कयौं सम्झनलायक फिल्म दिएका शिव श्रेष्ठले यसप्रकारको फिल्म बनाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

यो फिल्मबाट शिवका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा आयुष्मान देशराज जोशी, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइराला लगायतको पनि अभिनय छ । फिल्म हेर्ने दर्शक नहुँदा प्रायः मल्टीप्लेक्सहरुले आइतबारबाट सोज संख्या घटाएका छन् ।