माघ १ गते परराष्ट्रमन्त्री भारत जाने

84

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत जाने भएका छन् । उनी नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । “जनवरी १४ (माघ १ गते) हाम्रो परराष्ट्रमन्त्री भारत जाँदै हुनुहन्छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिमको धनगढीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने । भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले गत मंसिर ११,१२ गतेसम्म नेपाल भ्रमण गर्दा भारतीय विदेश मन्त्री एस। जयशंकरले पठाएको भारत भ्रमणको निमन्त्रण परराष्ट्रमन्त्रीलाई बुझाएका थिए । प्रतिनिधिसभा विघटन भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले गर्न लागेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भ्रमणका बेला नयाँ दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक हुनेछ। बैठकको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गर्ने छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका बेला भारतबाट कोरोना खोप ल्याउने विषयमा सहमति गरी त्यसको घोषणा गर्ने तयारी गरिएको छ । नेपालले भारतबाट कम्तीमा १ करोड २० लाख कोरोना खोपको डोज खरिद गर्ने तयारी गरिरहेको छ ।
संयुक्त आयोगको बैठक पालैपालो दुवै देशले गर्ने अभ्यास रहेको छ। आयोगको पाँचौँ बैठक काठमाडौँ गरिएको थियो । संयुक्त आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिन्छ।