Sunday, September 27, 2026
Home प्रदेश सिन्धुपाल्चोकबाट नेत्र सहायकका बेपत्ता

सिन्धुपाल्चोकबाट नेत्र सहायकका बेपत्ता

196

पुस १०,
भक्तपर । तिलगंगा आँखा अस्पतालको तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमार राईले बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गर्नु भएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघ महिनादेखि नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाँकु गए पछि नफर्केको उहाँले जानकारी दिनुभयो ।

२०७६ माघदेखि त्यहाँका बासिन्दालाई आँखाको उपचारमा सेवा पुर्याउने उदेश्यले अस्पतालले पठाएपछि स्वास्थ्य केन्द्रमा कार्यरत राई केन्द्रसंगैको घरमा भाडामा बस्दै आएका थिए । बेपत्ता राईका परिवारका अनुसार कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीमा कार्यरत सृष्टि श्रेष्ठसंग आफ्नै को.२१ प.५७९९ नम्बरको मोटरसाइकलमा बाह्रबिसेको पुल नजिकैसम्म गएको र त्यहाँबाट एक्लै भोटेकोशी गाउँपालिकास्थित चाकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएकोमा त्यसैदिनदेखि बेपत्ता भएका हुन् ।
आफन्तले बाह्रबिसेदेखि चाकुसम्म पुगेर खोजतलास गर्दा राकेश लगायत चारजनासंगै बसेर खानपान गरेपछि राकेश र राई हिन्दी गएर चाकु फर्केपछि बाह्रबिसे कोठातर्फ फर्किएको भनिए पनि कोठामा नआइपुगेको पिता लालकुमारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही दिन राती ८ः३० बजेसम्म काठमाडौं बस्ने दिदीले दुईवटै नम्बरमा फोन गर्दा घण्टी गएको तर नउठाएको र २८ गते पनि फोन जाने तर नउठाउने भएपछि स्वीचअफ भएको मोवाइल अहिलेसम्म खुलेको छैन । बेपत्ता राईका पिता लालकुमारले भन्नुभयो, “छोरासंग सम्पर्क नभएपछि तत्कालै बाह्रबिसे पुगेर कतै दुर्घटना पो भयो कि भनेर बाह्रबिसेदेखि भोटेकोशी, चाकु सबैतिर खोजी गरिसक्यौ, सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि मान्छे, मोटरसाइकल केही भेटिएन, शंकास्पद व्यक्ति माथि किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी लिएन ।”तिलगंगा आँखा अस्पतालमा कार्यरत उहाँका आफन्त कैलाश राईले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रदेखि भोटेकोशीसम्म खोज्दा पनि नभेटिएको बताउदै बाह्रबिसे नगरपालिका, यहाँको स्वास्थ्य केन्द्र, प्रहरी सबैतिर खोजी गरिदिन आग्रह गरेपनि अझै पत्ता नलागेको बताउनुभयो ।

यसबारेमा बाह्रबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहसंग सम्पर्क गर्दा उहाँले सम्भावित एवं शंकास्पद सबै ठाउँमा खोजी गर्दा पनि बेपत्ता राईको पत्तो नलागेको बताउनुभयो । उहाँले जनप्रतिनिधीसहितको सहयोगमा भोटेकोशीको खोला किनारादेखि सम्भावित अन्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको, मोवाइलको अन्तिम लोकेशन जिरोकिलोसम्म देखिएकाले काभ्रेको प्रहरीलाई समेत खबर गरी खोजी भइरहेको जानकारी दिनुभयो । शंकास्पद व्यक्तिहरु, बेपत्ता राईसंग नजिक रहेका भनिएका सृष्टिदेखि राकेश श्रेष्ठ लगायत अन्यसंग सोधपुछ र निगरानी गरिरहेको जानकारी दिदै खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।