मध्यसहरमा टुकुचा खोला नै गायबः नारायणहिटीभित्र खोला छ बाहिर हरायो

155

टेकराज थामी (नयाँ पत्रिका)
बैशाख १९, काठमाडौं । १. बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ । २. नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । ३. जयनेपाल हलबाट दक्षिणतर्फ कमलादी मोडसम्म खोलाको नामोनिसान छैन, खोला भूमिगत बनाएर भव्य भवन बनेका छन्

काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा इच्छुमती खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा। भाइकाजी तिवारीले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको पाँच सय मिटर लम्बाइको टुकुचा खोला नक्साबाटै गायब भएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाको अनुरोधमा हामीले टुकुचा खोलामा मिचिएको जग्गा खोजी गर्‍यौँ । स्थलगत अध्ययनमा पनि टोली गए । खोला बग्ने ठाउँमा पक्की घर बनेको पाइयो । हामीले नक्सा अध्ययन गर्‍यौँ । नापी कार्यालयलाई पत्र लेख्यौँ । नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठायो । हामी चकित परेका छौँ ।’

प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । तिवारीका अनुसार काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्म सरदर कम्तीमा चार मिटर चौडाइ छ । यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । जय नेपाल हल क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोड पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँबराबरको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।

‘साबिकको टुकुचा खोला बग्ने भाग बढीमा १० र कम्तीमा दुई मिटरसम्म चौडा रहेको देखिन्छ । दुई मिटर चौडाको दरले हिसाब गर्दा पनि पाँच सय मिटर लम्बाइको खोलामा झन्डै पाँच रोपनी जग्गा मिचिएको देखिन्छ । सरदरमा चार मिटर मान्ने हो भने मिचिएको जग्गा डबल हुन पुग्छ । प्रतिआना एक करोड रुपैयाँको दरले मात्रै हिसाब गर्दा पनि मिचिएको जग्गाको मूल्य निकै महँगो पर्न जान्छ,’ प्राधिकरणका प्रमुख आयुक्त डा। तिवारीले बताए ।

प्राधिकरणको दाबी– ०२१ को नापीमा टुकुचा थियो, ०३३ मा गायब पारियो, नापी कार्यालय भन्छ– ०३३ अघिको कुनै विवरण छैन