५० भन्दा बढी विधेयकहरु अलपत्र

75

मंसिर २३,
काठमाडौं । कोरोना महामारी सुरु भएसँगै सरकारले हतारमा संघीय संसदको बजेट अधिवेशन चाँडै अन्त्य गर्दा हिउँदे अधिवेशनमा विधेयकको चाप बढ्ने भएको छ ।संघीय संसदका दुवै सदनमा गरी ५० भन्दा बढी विधेयक अलपत्र परेका हुन् । राजनीतिक विमती र संसदीय समितिहरुको सक्रियता नहुँदा नौं वटा विधेयक दुई वर्षदेखि संसदमा अड्किएर बसेका छन् । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा दर्ता भएर वितरण मात्र गरिएका विधेयकको संख्या सात छ र सभामा प्रस्तुत भएर चार वटा विधेयक रोकिएका छन् भने राष्ट्रियसभाले पारित गरेर सन्देशसहित प्रतिनिधिसभामा पठाएका ६ वटा विधेयक अघि बढ्न सकेका छैनन् ।

विभिन्न समितिमा छलफलको चरणमा १० वटा विधेयक रहेका छन् । संसदीय समितिबाट पारित भएर प्रतिनिधिसभामा प्रतिवेदनसहित पठाइएका पाँच वटा विधेयक पनि उस्तै अवस्थामा रहेको संसद सचिवालयले जनाएको छ । संसद चालू नहुँदा प्रतिनिधिसभामा दर्ता भएका पाँच वटा गैरसरकारी विधेयकमाथिको छलफल पनि अघि बढ्न सकेको छैन । विभिन्न १४ वटा विधेयक भने राष्ट्रियसभाको प्रक्रियामा रहेको सचिवालयले जनाएको छ । यस्तै विभिन्न आठ वटा सन्धि सम्झौताहरुले संसदमा प्रवेश पाएका छन् भने सरकारले जारी गरेका विभिन्न पाँच वटा अध्यादेश पनि रहेका छन् ।