स्थानीय तहले अधिकार अनुसार काम गर्न सक्नुपर्दछ: मन्त्री त्रिपाठी

159

मंसिर १५,
काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जनप्रतिनिधिले सेवाको भावनाले काम गर्नुपर्नेमा बताउनुभयो । नागार्जुन नगरपालिकाको वडा नं. ७ स्थित नागार्जुन नगर स्त्तरीय रामकोट आधारभूत अस्पतालको सोमवार शिलन्यास गर्दै मन्त्री त्रिपाठीले जनप्रतिनिधिले गर्ने कामले नागरिका धेरै ससाना समस्या समाधान हुने बताउनुभयो । संविधानले स्थानीय तहलाई असाधारण अधिकार प्रदान गरेकाले स्थानीय तहका जनप्रतिनिधिले सोही अनुसारको कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नो सफलता भन्दा पनि अरुको विफलताको पर्खाइको प्रतिक्षामा रहने व्यक्तिको कहिल्यै पनि उन्नती नहुने भन्दै सकारात्मक सोचेर काम गर्न उहाँले सबैलाई सुझाव दिनुभयो ।
सरकारले गरेको राम्रा कामको चर्चा हुन नसकेका भन्दै उहाँले केही व्यक्तिले सामाजिक सञ्जालमा गरिने टिप्पणीका आधारमा सरकार प्रतिको धारणा बनाउन नहुने बताउनुभयो ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास गतिमा उल्लेख्य मात्रामा सुधार भएको बताउनुभयो । नगपालिकामा बाटो, खानेपानी नगर स्त्तरीय अस्पताल लगायतका भौतिक पूर्वाधारमा भएको प्रगतिले नगरपालिकाको मुहार परिवर्तन आएको बताउनुभयो ।
नगर स्त्तरीय अस्पताल छिटै सम्पन्न हुने भन्दै अस्पताल निर्माण सम्पन्न भइसकेपछि नर्सिङ होमले उपलब्ध गराउने सबै सुविधा अस्पतालले उपलब्ध गराउने नगर प्रमुख बस्नेतले बताउनुयभो ।
सो अवसरमा बागमती प्रदेश सभा सदस्य केशब पोखरेल, नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी लगायतले नगरपालिकाले गरेको विकासको गति तिब्र भएको भन्दै तीनै तहको समन्वयमा विकासको गतिलाई थप अगाडि बढाउन सकिने बताउनुभयो ।