पुरुषलाई चुनौती दिँदै महिला

315

जाजरकोट । पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेका छन् । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् । कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदिएको स्थानीयको भनाइ छ । कालिका मावि, साल्मा–५, जाजरकोटको खेलमैदान निर्माण गरेर यहाँका महिलाले आफ्नो कामलाई नमुनाका रूपमा प्रस्तुत गरेका छन् । भवन भएर पनि खेल मैदान नहँुदा समस्यामा रहेको विद्यालयलाई गाउँलेद्वारा बनाइएको खेलमैदानले सहज बनाइदिएको छ । कोटिला सामुदायिक वन उपभोक्ता समूह, साल्माको रु एक लाख अनुदान तथा स्थानीयवासीको रु दुई लाख ५० हजार गरी तीन लाख ५० हजार बराबरको लागतमा विद्यालयको खेलमैदान निर्माण गरिएको हो । गाउँको विद्यालयमा विद्यार्थीलाई खेल्ने खेलमैदान नहुँदा वन समूहमा भएको वन विकासअन्तर्गत सामाजिक तर्फको रकम सहयोग गरिएको कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपबहादुर बस्नेतले बताए । स्थानीय सामुदायिक वनको सहयोग तथा अभिभावकको श्रमदानमा विद्यालयको तीनसय मिटर लामो खेलमैदान निर्माण गरिएको हो । विद्यालय सञ्चालन भएको गाउँका दुईसय १५ घरधुरीका प्रतिघरबाट एक जनाका दरले खेलमैदान निर्माण गर्न श्रमदान गरिएको छ, विद्यालयको आन्तरिक स्रोत नहुँदा सञ्चालनमा निकै समस्या भएको छ ।