सूर्यविनायकमा ५० श्ययाको अस्पताल बन्ने

143

मंसिर १५,
भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, “सरकारले केही गरेन भन्नेले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालू आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउँदैछ । तीमध्ये करिब २५० पालिकामा एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”

विकास कोष र सूर्यविनायक नगरपालिकाको संयुक्त साझेदारीमा शुरुमा रु एक करोड ५० लाखको लगानीमा निर्माण हुन लागेको सो अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ । सरकारकोतर्फबाट थप २ करोड रुपैयाँ आउने चरणमा रहेको बताइएको छ । तत्काल सात श्ययाको सघन उपचार कक्ष, पाँच श्ययाको भेन्टिलेटर, नौ श्ययाको क्याबिन र ३० श्ययाको जनरल वार्डको अस्पताल सञ्चालनमा आउने छ ।

यस अस्पताल सूर्यविनायकका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसँग जोडिएकाले पूर्वबाट आउने बिरामीले समेत सेवा पाउने छन् । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा रहनुभएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीका लागि अस्पताल वरदान सावित हुने बताए ।

उपप्रमुख जुना बस्नेतले अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा आउने बताए । त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालीले सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेशनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन शुरु गरेको जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासँग रहेको चिकित्सक र अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताए । सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णय गरेको थियो । यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । सरकारले चालू वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माण शुरु हुने बताइएको छ । -RSS