भाइटीकामा सप्तरंगी टीका होइन, पञ्चरंगी टीका लगाउनुपर्छ

318

मंसिर १,
काठमाडौं । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर यो पर्व मनाइन्छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । त्यसैले आज त्यसको जानकारी हामी दिँदैछौं ।

तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए ।

भाइटीका लगाउँदा कुन दिशा फर्किने ?
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ । त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ । अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।