बुबालाई आक्रमण गरेको भन्दै छोरोले लिए अर्काको ज्यान

393

कार्तिक २२,
काठमाडौँ । प्रहरीले काभ्रेको रोशी गाउँपालिका–११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको हत्यामा संलग्न सन्तोष नेपालीलाई पक्राउ गरेको छ । बिसुङ्खेको शनिबार बिहान ढुंगा प्रहारबाट हत्या भएको थियो । आफ्नो बुबालाई बञ्चरो प्रहार गरेर घाइते बनाएको रिसमा सोही ठाउँका २४ वर्षीय सन्तोष नेपालीको ढुंगा प्रहारबाट बिसुङ्खेको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए ।
सामान्य विवादमा बिसुङ्खेले सन्तोषको ५५ वर्षीय बुबा खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरेर गम्भीर घाइते बनाएको एसपी पौडेलले बताए । बुबालाई बञ्चरो प्रहार गरेको रिसमा सन्तोषले ढुंगा प्रहार गर्दा बिसुङ्खेको मृत्यु भएको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका खड्ग बहादुर नेपालीको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल काभ्रेमा राखिएको छ । सन्तोषलाई हिरासतमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।