कालिञ्चोक आउने पाहुनालाई होटलमा ३० प्रतिशतसम्म छुट दिइने

995

कार्तिक १९,
कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती जाने बाटोमा रहेको कुरीका पर्यटन व्यवसायीहरुले पाहुनालाई ३० प्रतिशतसम्म छुट दिने योजना बनाएका छन् । ‘हामीले प्याकेजमा ३० प्रतिशतसम्म छुट दिने छौै,’ कुरी बजारमा रहेको होटल फायर साइडका संचालक सुदिन केसीले भने । खाना, बासलगायतका कुरामा सक्दो सहुलियत दिने योजना रहेको समेत उनले बताए । हाल कुरी बजारमा ५० भन्दा धेरै स्तरिय होटल तथा रेष्टुराहरु संचालनमा रहेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको नियमलाई पालना गर्दै होटल संचालनमा आएका छन् ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ । यो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट यो ३ हजार ८४२ मिटर उचाईमा छ ।
कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ । कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती पुग्न सकिन्छ । एक महिना अगाडीबाट केबुलकार सञ्चालनमा आएपछि सोही दुरी ५ मिनेटको केबुलकार यात्रा र १० मिनेट हिँडे पुग्छ ।

कसरी जाने कालिञ्चोक

कालिञ्चोक जान काठमाडौँबाट सार्वजनिक यातायात सिधै पाइँदैन । त्यसको लागि काठमाडौँबाट दोलखाको चरिकोटसम्म जान सकिन्छ । त्यहाँबाट सार्वजनिक सवारी थोरै मात्रमा चल्ने गर्छ । तर, भाडाका अन्य सवारी साधन भने सजिलै पाउन पाइन्छ । निजी सवारी साधन लिएर जानेले मुडे हुँदै मकैबारी भन्ने स्थानबाट माथि लाग्नुपर्दछ । करिब १८ किलोमिटर सडकमा धुलो, हिलो, ढलान हुँदै कुरी बजार पुगिन्छ । चरिकोटदेखि जानेले १९ किलोमीटर दुरीको यात्रा तय गर्न सकिन्छ । कुरी बजारमा झण्डै दुई दर्जन हाराहारीमा होटलहरु रहेका छन् । त्यहाँ आफ्नो रोजाई अनुसार बस्न र खान सकिन्छ । फर्कदा कालिन्चोकमा स्थानीय छुर्पी, जडिबुटीलगायतका कोसेलीहरु ल्याउन सकिन्छ ।अहिले सिन्धुपाल्चोकको लामोँसाघु दोलखाको तामाकोशीसम्म सडक विस्तारको काम भएकाले यात्रा केही असहज भने हुन्छ ।