कविताः उ जिन्दावाद

237
लेखकः राजकुमार लामिछाने

-राजकुमार लामिछाने ‘प्रीन्स’

अरे उस्ले कम्ता मेहनत गरेको छ
आफ्नो बिकट गाउँ छोडेको छ
त्यो सहरसंग सम्बन्ध जोडेको छ
सहर पनि केन्द्र हो केन्द्र राजधानी
राजधानिमा नि नेताकै छेउमा बस्छ नि ।

बिहानै नेतालाइ हेरेको छ
दिउसै नेतालाइ हेरेको छ
मुसुक्क हाँसेको छ कहिले
रिसाए झै गरेको छ कहिले
गाँउभरिको सबै भोट त उस्ले कम्मरमै बेरेको छ ।

पटुका फुकाउदै नेता फकाउदै
भोट देखाउदै भेट लेखाउदै
नेताको प्यारो बनेको छ
उस्ले चप्पल फेर्यो जुनि फेर्यो
चस्मा फेर्यो दुनिया हेर्ने दृष्टिकोण नै फेर्यो
गाँउमा जान्छ नेतासंगै
नेतालाइ भोटको चिन्ता
कार्यकर्तालाइ नेतासंगको भेटको चिन्ता
दुबैको बिचमा उ छ त्यसैले
दुबैतिर बाट माल छ र उ मालामाल छ ।

नेताकी पत्निसंग पत्ती खेलेर हो कि
५२ पत्तिको त्रीपन्न चाल चल्न सिपालु भा छ
ठेक्काको फाइल सार्न
अनि सब जानेको स्टाइल मार्न सिपालु भा छ रोयल सुज टल्केको छ ,
तालु टल्केको छ
उस्ले कम्ता दुख गरेको छ
भाग्य टल्केको छ ।

गाँउबाट सहर
अनि सहर बाट नेताको घरसम्मको यात्राको टिकट उसैले काटेको हो
त्यसैले गाउँ फर्किदा
पार्टीले नै टिकट देर पठाउन सक्छ
कद अलि सानै भए नि
योगदानको कदर त गर्नै पर्यो
श्रीमती , ठेकेदार , सालो , ब्यापारी
ए बाबा !
सबकै रोजाइ सदर त गर्नै पर्यो
म बिचार छोड्न नसक्ने ,
गाउँ, कार्यकर्ता, संगठन, आदर्श सबै चाहिने
अनि टिकट पनि सबै कहाँ हुन्छ
उस्ले कम्ता दुख गरेको छ
उस्को नि मुल्यांकन हुन परेन
नत्र उस्को मन रुन्छ ।

चुनावमा बोक्नुस, लालसलाम ठोक्नुस
घोषणा पत्र नि पठाका छौ
राम्रो संग घोक्नुस
अलि मान्छे जुटाउनु ,
हल्का चुस्स सिसि फुटाउनु
चौर भर्नु ,सभा गर्नु ,पर्चा छर्नु
चुनावको तयारी मज्जाले गर्नु ,
आदेस पार्टीको आदेश माथिको
उस्ले कम्ता दु:ख गरेको छ
भुँडी बढेको छ ।

गाँउको त्यो कच्ची बाटोमा बल्ल गाडी चढेको छ
सहरबाटै ल्याको बोतलको पानी खानुपर्या छ
राती होटल पुगेसी मात्र गाडिबाट झर्या छ
गाँउलेको गन्धले सास फुलेर झण्डै लडेको
कहिले डाँडामा हिड्नु
कहिले खोला तर्या छ
हेर्नू त उस्ले कम्ता दुख गर्या छ
उ जिन्दावाद ।।

तेलकोट, भक्तपुर