धरानमा युवतीको रहस्यमय मृत्यु

237

भदौ २४,
सुनसरी । धरानमा एक युवतीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला परेको छ । भदौ २२ मा धरान उपमहानगरपालिका–११ की सोनीहाङ लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव नभेटिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीका अनुसार युवतीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।

यद्यपी लिम्बुको परिवारले उनी आफ्नै कोठाको पंखामा झुण्डिएको भनी प्रहरीलाई खबर गरेका थिए ।
लिम्बुले झुण्डिदा प्रयोग गरेको भनिएको सल मात्रै पंखामा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । लिम्बु झुन्डिएको देखेपछि उनलाई खाटमा झारेर राखेको परिवारले प्रहरीसमक्ष बयान दिएको इन्सपेक्टर वलीले जानकारी दिए । सोनीले निकै समय ढोका नखोलेको र फोन पनि नउठाएपछि ढोका फुटाएर हेर्दा आफ्नै कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएको परिवारको दावी छ ।