‘सैन्य गठबन्धनसँग जोडिने विदेशी सहयोग लिँदैनौं’

98

असार ५,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपाललाई अस्वीकार्य हुने बताएका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को संयुक्त भर्चुअल कार्यशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै प्रचण्डले नेपाललाई विकासको चरणमा रहेकाले ठूलो मात्रामा सहयोग चाहिए पनि सैन्य गठबन्धनसँग जोडिन नसकिने बताएका हुन्। नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० लाई लिएर चर्को विवाद भइरहेका बेला अध्यक्ष दाहालले यस्तो बताएका हुन्। एमसीसी पनि अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिमा जोडिएको भन्दै नेकपामा अहिले तीव्र विवाद चलिरहेको छ। यसबारेमा औपचारिकरुपमा नबोलेका प्रचण्डले सिपिसीसँगको भिडियो सम्वादमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसिसीको पक्षमा पार्टीभित्र बहुमत जुटाउने कसरतमा रहेका बेला अध्यक्ष दाहालले सैन्य गठबन्धनमा जोडिने आशयबाहेकका सहयोग नेपालले लिन तयार रहेको बताएका छन्। यस भनाइसँगै प्रचण्डले एमसीसीलाई पनि संशोधन नगरी पास गर्न नसकिने संकेत गरेका छन्। अध्यक्ष दाहालले एमसीसी र अमेरिकाको नाम उच्चारण नगरी नेपालले असंलग्न नीति लिएकाले विश्वका कुनै पनि शक्तिको सैन्य गठबन्धनमा जोडिने गरी सहयोग लिन नसकिने प्रष्ट सन्देश दिएका छन्।