बीमा रकमको लोभमा बुहारीको हत्या गरेको आशंका

223
सांकेतिक चित्र

असार ५
हेटौंडा । बुहारी हत्याको आशंकामा मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । गत मंगलबार हेटौंडा ४ गर्दोइस्थित घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्याको आशंकामा प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको हो । तीन दिनअघि घरको भान्छा कोठामा सुस्मिता मृत भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानको क्रममा सुस्मिताको हत्या पुष्टि हुने आधार भेटिँदै गएको बताइएको छ । मृत भेटिएकी उनको टाउकोको पछिल्लो भागमा लागेको चोटका कारण आँखामा समेत असर परेको देखिएको छ । उनको घाँटी र अन्य भागमा समेत चोट रहेको प्रहरीले बताएको छ । थापाको शव घरको भान्छामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएको थियो । हत्यालाई आत्महत्याको संज्ञा दिन अपराधमा संलग्न व्यक्तिहरूले नयाँ तरिका अपनाएको हुन सक्ने भन्दै मकवानपुर प्रहरीले घटनालाई सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रहरीले गरिरहेको अनुसन्धानले पहिलो चरणमा आर्थिक प्रलोभनलाई देखाएको छ । मृतक थापाका श्रीमान‍्को ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियोे । प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमान‍्को दुर्घटना बिमा र जीवन बिमाको ठूलो रकम सुस्मिता थापालाई आउँदै गरेको भएर परिवारका सदस्य नै घटनामा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै घरमै रहेका ससुरा र नन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सिता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरी नायब उपरीक्षक रानाले घटनाबारे अनुसन्धान भइरहेकोले थप जानकारी दिन नसकिने बताए । प्रहरी श्रोतका अनुसार पोस्टमार्टम रिपोर्टका अनुसार घटना आत्महत्या नभई हत्या भएको पाइएको भए पनि अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताएको छ । अनलाइन खबरबाट