भक्तपुरमा जनप्रतिनिधीलाई नै कोरोना संक्रमण

193

जेठ १०,
भक्तपुर । एक महिला जनप्रतिनिधीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाईएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका वडाअध्यक्ष रबिन्द्र ज्याख्वाले जानकारी दिएका छन् । वडाअध्यक्ष ज्याख्वाले भने ‘उहाँको पीसीआर रिर्पोटमा पोजेटिभ आएको छ, हामीले उहाँको टोल वरपर शिल गर्ने तयारी गरेका छौं ।’
उनी उपत्यका बाहिर पनि नभएरको र कसरी संक्रमण भयो भन्ने अन्यौलमा रहेको समेत वडा अध्यक्षले बताएका छन् । संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ ।

उनीहरुको समेत परिक्षण गर्ने तयारी भईरहेको वडा अध्यक्षले बताए । वडाअध्यक्षलगायतका अन्य जनप्रतिनिधी भने क्वारेन्टाइनमा बसेका छन् । शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।
महानगरिय प्रहरी परिसर जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले संक्रमित जनप्रतिनिधीको घर, टोलमा सिल गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।