भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ख्वप सः को बैशाख २४ गते बुधबारको १०९ औं भागमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिज्यूसँग लकडाउनको समयमा शिक्षा क्षेत्रमा देखिएको अन्यौल तथा समस्याबारे प्रस्तोता रविन्द्र प्रसाद कुसीले लिनुभएको अन्तर्वार्ता
यहाँलाई कार्यक्रममा स्वागत छ ।
-धन्यवाद ।
केही समयअघि बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरीे बैकल्पिक माध्यमबाट विद्यालयहरुमा भर्र्ना अभियान र पाठ्यपुस्तक वितरणलगायतका काम सुरु गर्ने र त्यससम्बन्धि अरु कामहरु गर्ने निर्णय गरेको थियो तर सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसमा रोक लगाउन निर्देशन जारी गरेको छ । यसलाई भक्तपुर नगरपालिकाले कसरी हेरेको छ ?
– शिक्षा क्षेत्रमा पछि पर्नु भनेको देश पछि पर्नु हो । शैक्षिक क्षेत्र बन्द हुनु कुनै पनि हिसाबले पनि राम्रो होइन । इतिहासमा पढ्न पाइन्छ, भियतनाम युद्ध र कोरिया युद्धको विषम परिस्थितिमा समेत त्यहाँको नेतृत्वले शैक्षिक संस्थाहरु बन्द नगरी सुरक्षित ठाउँमा, घना जंगलको बीचमा छाप्राहरु बनाएर सञ्चालन गरेका थिए ।
आजको समय भनेको कुनै देशसंग हाम्रो देशको लडाई भएको होइन । एउटा विषाणुसँग गर्नुपर्ने प्रतिरोधको कारणले अहिले सिंगो देश अझ भनुँ विश्व नै थप्प भएको अवस्था हो । हिजोको समयमा भन्दा आज निक्कै नै प्रविधिको विकास भइसकेको छ । विज्ञान र प्रविधिको कारणले धेरैले घरमा बसेर पनि पठनपाठन गर्न सक्छन् । त्यसकारणले आधुनिक प्रविधिलाई जति सक्यो त्यति उपयोग गरेर विद्यार्थीहरु घरमा बसेर र शिक्षकहरु पनि कोठामा बसेर पढाउन सकिने यो युगमा प्रविधिको प्रयोग गरौं ।
तर, केन्द्र र प्रदेश सरकार र स्थानीय तहबीच समन्वयको अभावले जनता अन्यौलमा छन् । बागमती प्रदेशले एउटा सुचना निकाल्ने अनि संघले अर्को सूचना निकालेर बन्द गर्ने, यो राम्रो होइन । किनभने यो भनेको लाखौं विद्यार्थीहरुको भविष्यसँग सम्बन्धित विषय हो । नर्सरीदेखि माथिल्लो तहसम्मका सबै विद्यार्थीलाई प्रभाव पर्ने भएको हुँदा यस्तो विषयमा के गर्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा स्थानीय तह, प्रदेश र केन्द्रबीच छलफल गरी निर्णय गरेको भए राम्रो हुने थियो । कसैसँग समन्वय नगरी फटाफट सूचना निकाली दिँदा अप्ठेरो भएको हो । निर्णय गर्दा व्यवाहारिक पक्षलाई ध्यान दिनु आवश्यक छ ।
एउटै बैठकले धेरै समस्या समाधान हुन सक्थ्यो । केन्द्र र प्रदेशको विद्यालय संचालनमा आ–आफ्नो अधिकारको दावीे देखिन्छ । वास्तवमा विद्यालय संचालनको जिम्मा कानूनले स्थानीय तहलाई तोकेको छ । त्यसैले यस्ता बिषयहरु स्थानीय तहले निर्णय गर्नु पर्ने हो । यस्तो अवस्थामा स्थानीय तहसँग समन्वय गरेर काम गरेको भए राम्रो हुने थियो । विद्यालय संचालन गर्ने निर्णय स्थानीय तहको स्थिति अनुसार फरक फरक होला । तर शैक्षिक संस्थाहरु संचालन गर्ने धेरै उपायहरु छन् तर त्यतातिर प्रदेश र संघ सरकारको ध्यान गएको देखिदैन ।
भक्तपुर नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विद्यार्थी भर्ना प्रक्रिया र अन्य शैक्षिक कृयाकलाप गर्ने वातावरण कतिको छ त ?
-अहिले नेपाल सरकारले सूचना निकालेर बन्द गरेको अवस्थामा हामीले कुनै काम गर्दाखेरी त्यो निर्णय विपरीत हुन जान्छ । सकेसम्म त्यस्तो खालको अन्यौल नआओस् भन्ने चाहन्छौ । परिस्थिति कस्तो छ त्यसको आधारमा चल्नुपर्छ । अहिले भर्ना खुलेको अवस्थामा तुरुन्तै विद्यार्थी भर्ना हुन आउँछ भन्ने साँचो होइन । सरकारले निर्देशन दिदैमा सबै काम हुन्छ भन्ने पनि होइन । परिस्थितिले त्यस्तो भन्दैन । त्यसकारण पहिलो चरणमा लकडाउनलाई अलिकति खुकुलो पार्न आवश्यक छ । जस्तो अहिले कुनै पनि संक्रमित नभेटिएका सुरक्षित ठाउँमा निश्चित संख्यामा यातायातलाई नगर वा जिल्लाभरि मात्रै संचालन गरी जिल्ला बाहिरका नागरिकहरुलाई प्रवेशमा रोक लगाउने जस्ता उपायहरु अपनाउन सकिन्छ । यसो गरेमा स्वभाविक रुपमा जनजीवन क्रमशः सहज बन्दै जानेछ ।
सबै विद्यालयहरुमा सबै तहका वार्षिक परीक्षाहरु सम्पन्न गरी नतिजा प्रकाशित गर्ने क्रम शुरु भइरहेको छ । भक्तपुर नगरपालिकाले कक्षा ८ विद्यार्थीहरुको नगरस्तरीय अन्तिम परीक्षा द्यीभ् पनि सम्पन्न गरिसकेको छ । त्यसको नतिजा प्रकाशन गर्ने प्रकृया कहाँ पुगेको छ मेयरज्यू ?
– कक्षा ८ को परीक्षाको नतिजा प्रकाशनसम्बन्धि सम्पूर्ण तयारी भइसकेको छ । अब केही दिनपछि प्रकाशित हुन्छ । हामीले सबै कुरा हेरिसकेका छौं । कुनै पनि दिन हामी निकाल्न सक्छौं । केही दिन मात्रै धैर्यताको आवश्यकता छ । विद्यालय तहका अन्य वार्षिक परीक्षाको पनि रिजल्ट निकाल्न गा¥हो छैन । अनलाइनबाट निकाल्न सकिने भन्ने कुरा आइसकेपछि त्यही अनुसार परिक्षाफल प्रकाशित हुन्छ ।
लकडाउनको अवधिमा विद्यालयको नियमित कक्षाहरु संचालन हुुने देखिंदैन । यो विचमा विद्यालयका साना बालबालिकाहरुका लागि अभिभावक र विद्यालयले के के गर्न सक्छन् अब यस्तो बेला स–साना भाइबहिनीहरुलाई उनीहरुको तह अनुसार व्यवहारिक कक्षाहरु जस्तै : चित्रकला लेख्नेदेखि लिएर के के गर्न सकिन्छ अहिले त अनलाइन माध्यमबाट पनि सिकाउन सकिन्छ । घरमै बसेर पनि अभिभावकहरुले बालबच्चाहरुलाई विभिन्न खेलहरु र व्यवहारिक ज्ञानहरु,नैतिक शिक्षा सिकाउन सकिन्छ । त्यसको लागि यो अत्यन्तै महत्वपूर्ण अवसर हो । कति विद्यार्थीहरु त अभिभावकहरुसँग टाढा बस्ने गरेका छन् । यस्तो अवस्थामा छोराछोरीहरुको मनोभावना बुझेर आमाबाबुले संगै बस्ने, माया गर्ने, रमाइलो गर्ने र केही सिर्जनशील गतिविधिमा संलग्न गराउने कार्य गर्दा उचित हुन्छ । माथिल्लो कक्षाका विद्यार्थीहरूलाई अभिभावकले जानेबुझेका कुराहरु सिकाउनु पर्छ । पाठ्यक्रमसंग सम्बन्धित वा जीवन दर्शनसंग सम्बन्धित समय सान्दर्भिक नयाँ नयाँ किताबहरु पढ्ने राम्रो अवसर पनि हो । सामाजिक संजालहरुको पनि सही उपयोग गर्नुपर्छ ।
भक्तपुरमा पछिल्लो समयमा केही विद्यालयहरुले अनलाइन तथा भचर््ाुअल कक्षा सुरु गरेको देखिन्छ । यसलाई सबै विद्यालयहरुमा एकरुपता ल्याउन सकिन्छ कि ?
-यसबारे अध्ययनको अवश्यकता छ । औसतमा एक तिहाइ विद्यार्थीहरुमात्रै इन्टरनेटको पहुँचमा र बाँकी विद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन् भने एक तिहाइलाई फाइदा भएपनि बाँकीलाई अप्ठेरो पर्न सक्छ । यो कुरा शिक्षकलाइ थाहा नहुन सक्छ । विद्यालयले विद्यार्थीसँग शुल्क उठाउँछ अनि अविभावकको गुनासो आउने सम्भावना छ । त्यो बेला अविभावक र विद्यालयको बीचमा द्धन्द्ध उत्पन्न हुन सक्छ ।
सरकारले सरकारी विद्यालयका शिक्षकलाई लकडाउनको समयावधिलाई सार्वजनिक विदाको रुपमा तलब दिने निर्णय गरेको अवस्थामा निजी विद्यालयका शिक्षक तथा कर्मचारीकलाई तलब दिन अनलाइन कक्षा वाध्यता हो कि ?
– अनलाइन कक्षा बाध्यता होइन, समयको आवश्यकता हो तर सबै विद्यार्थीहरुमा इन्टरनेटको पहुच नपुगेकोले मात्र समस्या हो । कति शिक्षक र विद्यार्थीको समय अहिले खेर गइरहेको छ । यसलाई केही हदसम्म सदुपयोग गर्न अहिले क्भ्भ् परीक्षा दिने तयारी अवस्थामा रहेका विद्यार्थीको लागि नगरपालिकाले टेलिभिजनमार्फत भर्चुअल कक्षा संचालन गरिरहेको छ । यसले भक्तपुरका विद्यार्थीलाई मात्र होइन, देशभारका विद्यार्थीहरुको लागि सहयोग भइरहेको छ । अहिले हात हातमा मोबाइल छ । इन्टरनेटको पहुचमा रहेका विद्याथीृहरूले पढ्न सकुन भनेर सामाजिक सञ्जालमा पनि राखेका छौं । हुम्ला, जुम्ला जस्ता पहाडी र तराइका विभिन्न जिल्लाका विद्यार्थीहरुले पनि सम्पर्क गर्ने गरेका छन् । धेरै विद्यार्थीहरुले राम्रो मानेका छन् । ऐच्छिक विषयका पनि पढाउनुपर्याे भनेर सुझाव आएपछि त्यसतर्पm पनि नपाको ध्यान गएको छ । फेसबुकमा प्रत्यक्षमात्र होइन रेकर्डेड पनि हेर्न सकिन्छ । चाहिने कक्षामा मात्र पनि बस्न सकिन्छ । अन्य ठाउँका शिक्षकहरुले पनि प्रशारणको निम्ति सम्पर्क गरिरहनु भएको छ । कसरी कानुनी हिसाबले गर्न सकिन्छ त्यसलाई व्यवस्थित तरिकाले गर्न नपाले सोच राखेको छ ।
लकडाउनको क्रममा पनि काठमाडौ भित्रिने क्रम जारी छ । यसले हामीलाई कठिनाइ त आउने होइन ?
-सम्भावना छ । त्यसको लागि सरकारले प्रत्यक व्यक्ति अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै भित्रयाउने व्यवस्था मिलाउन आवश्यक छ । दैनिक ७०० वटा गाडी भारतबाट आएको कुरा जानकारी आएको छ । ती मध्ये एकजनामा मात्र संक्रमण भेटिए पनि भयावह हुन सक्छ । त्यसैले हतारमा यस्तो निर्णय लिन हँुन्दैन । केन्द्र, प्रदेश र स्थानीय तहले प्रयास गर्न जरुरी छ ।
लकडाउनले अर्थतन्त्र संकटमा परेको छ र जीवनयापन पनि कष्टकर भएको छ । खाद्य संकट हुने देखिन्छ । यस कारणले पनि लकडाउनको उलंघन भइरहेका छन् । यसमा के गर्न सकिन्छ ?
-अर्थतन्त्र कमजोर भए उकास्न सकिन्छ । तर मान्छेको ज्यान गयो भने फर्काउन सकिँदैन । त्यसैले पहिलो प्राथमिकता स्वास्थ्य हो । त्यसपछि अर्थतन्त्र र खाद्यान्न उत्पादनको कुरा सोच्ने हो । डेढ महिनासम्म पुरै बन्द हुँदा पनि कसैले खुल्नु पर्याे भनेको छैन । यसको अर्थ हामी सबै सुरक्षित हुनुपर्छ भन्ने कुरामा जनताले साथ दिएकै हो । सारा जनाताले स्विकारेको हो । सरकारले गरेको लकडाउन पालना गर्नुपर्छ भनेर जनाताले सहमती जनाएको कारण सफल भएको छ । नत्र भए त जुलुुस आउथ्यो नि । सुरक्षित बनाउने काम सरकारकै हो ।
भारतमा लकडाउन थपिएसंगै नेपालमा पनि लकडाउनको अवधि थपिराख्नुपर्ने र पछिल्लो समयमा नेपालगंजमा तीन दिन पूरै नगरपालिका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको अवस्था छ । परिस्थिति कस्तो तयार हँुदैछ ?
-अहिलेको अवस्था समस्या छ । विश्वभरि नै रोगका कारण मर्नेहरुको संख्या बढ्दै छ, संक्रमितहरूको संख्या पनि बढ्दैछ । नेपालगन्जमा दैनिकजसो नै संक्रमितको संख्या बढिरहेको छ । यद्यपि कसैको ज्यान गएको छैन । त्यो हिसाबले सकारात्मक छ । यति हुँदाहुँदै पनि एकजना मान्छेले गर्दा नै पूरै देशमा क्षति पु¥याउन सक्ने सम्भावना छ । अझ यसलाइ व्यवस्थित रुपमा लैजानुपर्छ । यसमा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नपर्छ ।
कोरोना भाइरस नियन्त्रणको लागि नगरपालिकाले प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । यसको खर्च प्रक्रिया के कस्तो रहेको छ ?
– नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा प्रदेश सरकारले १२ लाख रुपैयाँ राखिदिने भनेको छ । अरु पैसा नगरपालिकाले जुटाइरहेको छ । पहिले कोषमा २५ लाख थियो । पछि १ करोड थप गरिएको छ । त्यसैबाट सफाइ मजदुरहरु, डाक्टर तथा नर्सहरुको लागि पीपीइ सुट तथा अन्य सुरक्षा सामग्रीको बन्दोबस्त गरिएको छ । विभिन्न संस्था, सहकारी तथा व्यक्तिहरुले कोषमा रकम, साबुन, पीपीइ, माक्स, सेनिटाइजर, खाद्यान्नलगाायतको सहयोग प्राप्त भइरहेका छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, जनस्वास्थ्य केन्द्र र महानगरीय प्रहरी परिसरमा पीपीई सेट वितरण गरेका छौ । नपामा प्राप्त भएको खाद्यान्न पनि वडाहरुमा तुरुन्तै पठाइरहेका छौ । कोषमा सहयोगको क्रम जारी छ । विपदको बेला सहयोग गर्ने सबै सहयोगी हातहरुलाई धेरै धेरे धन्यवाद ।
कार्यक्रमको अन्त्यमा ?
– भक्तपुर एफएममार्पmत ख्वप सः सुनिरहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध छ, हामी कोरोना भाइरसको जोखिममा छौ । त्यसकारणले हामी सबै सुरक्षित भएर बस्नुपर्छ । सरकारले घोषणा गरेको लकडाउन पालना गरौं । विश्व स्वास्थ्य संगठनले जारी गरे अनुसार सामाजिक दुरीमा रहेर काम गरेमा हामी सुरक्षित रहन्छौ ।