विषाक्त ग्यास चुहावटः ८ जनाको मृत्यु, ५ हजारभन्दा बढी अस्वस्थ

164

बैशाख २५,
नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्यासले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्यास चुहावट भएको हो । सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।

बिहीबार बिहान करिब तीन बजेतिर एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्यास फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयबासी घरमै सुतिरहेको समयमा ग्यास फैलिएको बताइएको छ । एक्कासी श्वास फेर्न कठिनाई हुने, बान्ता हुने, आँखा पोल्ने जस्ता लक्षणसहित मानिसहरु घरबाहिर निस्कन थालेका थिए । सोही क्रममा कयौं मानिस सडकमै बेहोस भएर ढलेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निजी स्रोतलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानलहरुले जनाएअनुसार ५ हजारभन्दा बढी मानिस अस्वस्थ भएर विभिन्न अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

कोरोना संक्रमणका कारण अस्पतालका सेवा प्रभावित भएको अवस्थामा एक साथ पाँच हजारभन्दा बढी मानिसलाई विषाक्त ग्याससम्बन्धी बिमारीको उपचार गर्न निकै चुनौतीको सामना गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । घटनालगत्तै प्रहरीले सो क्षेत्रका पाँच गाउँ खाली गराएको छ । रातारात सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । एलजी पोलिपर्स कारखानाको करिब तीन किलोमिटर दायरामा विषाक्त ग्यास फैलिएको बताइएको छ । ग्यास कसरी चुहियो भन्नेबारे प्रष्ट भइसकेको छैन । अधिकारीहरुका अनुसार बिहीबार बिहानै ग्यास चुहावट प्रकरणमा एलजी कम्पनीविरुद्ध स्थानीय प्रशासनले मुद्दा दायर गरेको छ ।