कविता : नेपालमा नै मँरू

44

बिमला चन्द “सानू”

छन्द : शार्दूलविक्रीडित

भाषा भेष परम्परा मनुजता विश्वास छन् सादर
माला बन्न सकौँ बनी कुसुमझैँ गर्दै सदा आदर
मेरो देश म भित्र बन्छ रसिलो हाँस्तै गरा फाँटमा
रातो रक्त बहन्छ वीररसमा माटो सधैं माथमा ।।

फाली गन्ध सफा रहन्छ सुखमा बोक्तै हिमाली शिर
जो जो छन् सब दाजुभाइ बटुली हाँस्छन् मिठो सुन्दर
सारा मानिस मित्रवत् बनिरहे हुन्नन् पराई जना
बस्छन् साथ मिलेर प्रेमरसमा भातृत्वको कामना ।।

पाखा पर्वत खोँच छन् रहरिला छन् स्वर्गका आकुँरा
ज्यूँदै छन् मृदुभावका सुरसिला खोज्दै मुमाको धरा
बोल्छन् चिर्बिर तालको लय मिसी खोज्छन् चरा च्याखुरा
मेरो देश विशाल यो हृदयमा सर्वोच्चताको धुरा ।।

मीठो प्रेम रहोस् स्वबन्धुसरिको सोच्तैछ यो देहले
मेरा मन्दिर चैत्यका शिविरमा मै हो त भन्ने ढले
फाल्नैपर्छ विभेद जात थरका जोडी फुटेका मन
हिंसा क्रोध विभेदका सब कुरा फाली सफा आँगन ।।

हाँस्तै साथ हँसाउने प्रण छ यो हो शान्तिको मन्थन
सारा विश्व छ दाजुभाइ सरिका काट्छौँ परे गर्दन
मर्ने अन्तिम सत्य हो यदि भने नेपालमा नै मँरू
मेरो नाम र कामको मधुरता यो देश भित्रै छरूँ ।।

-बैतडी, सुदुरपश्चिम प्रदेश